बाँके । सत्ता गठबन्धनका चार दलले बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा राखिएको तत्कालीन राजा त्रिभुवनको शालिक हटाउन माग गरेका छन् । विगतमा भएको सहमति विपरीत राजा त्रिभुवनको शालिक स्थापना गरिएको भन्दै हटाउन माग गरेका हुन् ।
सत्ता गठबन्धनका चार दलले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बाँकेले सोमबार संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
दलहरुले शालिक तत्काल नहटाइए आफूहरुले हटाउने चेतावनी पनि दिएका छन् । निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरीत एकलौटी ढङ्गले जिल्लामा सामाजिक सदभाव बिगार्ने नियतका साथ शालिक स्थापना गरिएकोले विगतको सहमतिअनुसार नै हटाउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगर समितिका अध्यक्ष रतन शाहीले जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र सङ्घीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरे ।
विगतमा पनि शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले सो स्थानमा नेपालको झण्डा र नक्सा राख्ने सहमति भए पनि सो विपरीत स्वयम् मेयर राणाकै अगुवाइमा शालिक स्थापना गरिएको उनीहरुको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो शालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको बताए । उपमहानगरपालिका र मेयर राणासँग कुन निर्णयबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताए । प्रशासनले आफ्नो तरिकाले समस्या समाधान निकाल्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
संयुक्त ज्ञापत्रपत्र बुझाउन नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रतन शाही, जनता समाजवादी पार्टीका राजेन्द्र विश्वकर्मा, एकीकृत समाजवादी नेपालगन्जका सरोज तामाङ र राष्ट्रिय जनमोर्चा नेपालका जगदीश ढकाल लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय बाँके पुगेका थिए ।
।