सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको विषयमा माओवादी अध्यक्ष दाहालको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ ।

सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको महत्वपूर्ण साझेदार दलका नेता दाहालले एमसीसी संसदमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राख्नुभएको हो ।

आज बसेको गठबन्धनको बैठकमा दाहालले एमसीसी सदनभन्दा समितिमा लैजान आग्रह गरेको दाहालको सचिवालयले जनाएको हो । टेबल नै गर्ने हो भने प्रस्ताव छलफलका लागि समितिमा पठाउन आग्रह गर्नुभएको दाहालकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।

कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि लामो समयदेखि सदन अवरुद्ध भएकाले अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने दाहालले प्रधानमन्त्रीलाई भन्नुभएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १२:३९