सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमसीसी संसदमा पेश गर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने सहमति गरेको छ ।

विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेबुल गर्न सहमति गरेको हो ।

यसअघि एमसीसी संसदमा टेबुल गर्ने विषयमा असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछिल्लो पटक केही लचक देखिएका छन् ।

जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो ।

समाजवादीको हिजो बसेको स्थायी कमिटिको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको थियो ।

अमेरिकाले एमसीसीबारे निर्णय गर्न दिएको समयसीमा फागुन १६ गते नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका दलहरूबीच सहमति जुटाएर टेबुल गर्ने जोडबलमा हुनुहुन्थ्यो ।

उहाँले गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि गृहकार्य गरिरहनुभएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार ११:१७