सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

बझाङमा एक लाख २६ हजार १२६ मतदाता, थपिए २७ प्रतिशत

बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले निर्वाचन आयोगमा पठाएको विवरण अनुसार कुल मतदाता संख्या अनुसार १ लाख २६ हजार १२६ रहेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङले २०७८ माघ २९ गतेसम्म संकलन तथा अध्यवधिक गरेअनुसार महिलाभन्दा पुरुष मतदाता हरुको संख्या बढी रहेका छन् ।

जसमा महिला मतदाता संख्या ६२ हजार १६० र पुरुष मतदाता ६३ हजार ६६५ रहेका छन् । गत बर्ष २०७४ को स्थानीय तहको निर्वाचनमा बझाङमा ९८ हजार ९८१ मतदाता रहेका थिए भने यस बर्ष मतदाता नामावली बनाउनेहरुको संख्यामा २७ प्रतिशतले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए ।

राजनीतिक दल, स्थानीय तह, सरोकारवाला र सुरक्षाकर्मीबीच छलफल तथा समन्वयमार्फत मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितीको निर्णय अनुसार बझाङ जिल्लामा १३३ वटा मतदान स्थल रहेका छन् । २०७४ सालको निर्वाचन भन्दा यस बर्ष ८ वटा मतदान स्थल थप भएका छन् ।

१० वटा गाँपालिका र २ वटा नगरपालिका रहेको बझाङ जिल्लामा साइपाल गाउँपालिकामा ५ वटा मतदानस्थल, तलकोटमा १०, मष्टामा, १२, सुर्मामा ६, छविसपाथिभेरामा ११, खप्तडछान्नामा ११, दुर्गाथलीमा ९, केदारस्युँमा ११, थलारामा ११, वित्थडचिर गाउँपालिकामा १२, जयपृथ्वी नगरपालिकामा १६ र बुंगल नगरपालिकामा १९ वटा गरी १३३ वटा मतदान स्थल कायम गरिएको छ ।

बझाङ जिल्लामा हालसम्म पालिका अनुसार मतदाता संख्या हेर्ने हो भने सबैभन्दा कम मतदाता संख्या साइपाल गाउँपालिकामा रहेका छन् । साइपाल गाउँपालिकामा १ हजार ५८० मतदाता संख्या रहेका छन् । जिल्लामा सबैभन्दा बढी बुंगल नगररपालिकामा २० हजार १११ मतदाता संख्या रहेका छन् ।

त्यस्तै तलकोटमा ७ हजार ८२३, मष्टामा ९ हजार ३४०, सुर्मामा ५ हजार ५९७, छविसपाथिभेरामा १० हजार ७१७, खप्तडछान्ना ११ हजार ५१५, दुर्गाथलीमा ९ हजार ३१९, केदारस्युँमा १२ हजार ४१३, थलारामा ११ हजार ५६५, वित्थडचिर गाउँपालिकामा ११ हजार ३२३ र जयपृथ्वी नगरपालिकामा १४ हजार ७२१ गरी १ लाख २६ हजार १२६ मतदाता रहेका छन् ।

मतदाताको उक्त संख्या विवाह बसाईसराई गएका र आएका, मृत्यु भएका, १८ बर्ष पुरा नभएका र दोहोरो परेकासमेत मिलान गर्दा केहि फरक पर्नसक्ने समेत जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । आयोगको निर्णय अनुसार मतदाता परिचय पत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गते सम्म सम्बन्धीत वडा कार्यालयको सिफारिस सहित निर्वाचन कार्यालय बझाङमा दिनका लागि समेत निर्वाचन कार्यालय बझाङले आग्रह गरेको छ ।

अन्तिम मतदाता नामावलीको कामलाई समेत अघि बढाएको समेत निर्वाचनले जनाएको छ । सरकारले बैसाख ३० गते स्थानिय तहको निर्वाचनको मिती घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय बझाङले समेत आफ्ना गतिविधिहरु अघि बढाएको छ । गाउँघर, टोल, चिया पसल लगायतका ठाउँहरुमा चुनावी छलफल तथा बहस हुन थालेका छन् । २०७८ को जनगणना अनुसार बझाङको जनसंख्या १ लाख ८९ हजार ९७ रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:५४