सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एक वर्षमा ६२८५ मानवअधिकार उल्लघंनका घटना

अनौपचारीक सेवा केन्द्र इन्सेकद्वारा नेपालगन्जमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रम ।

काठमाडौं । नेपालमा सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ६ हजार २८५ जना पीडित बनेको अनौपचारीक सेवा केन्द्र इन्सेकले जनाएको छ ।

इन्सेकले शनिबार मानवअधिकार बर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै मानवअधिकार उल्लंघन घटनाको संख्या सार्वजनिक गरेको हो । सन् २०२१ मा महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा ३ हजार ४१७ जना पीडित भएका छन् ।

यस वर्ष बेचबिखनका प्रयासका घटनामा १६ जना, घरेलु हिंसाका घटनामा २ हजार ९५ जना, कथित बोक्सीको आरोपमा ३१ जना, बलात्कारका घटनामा ६४९ जना, बलात्कार प्रयासका घटनामा १७७ जना, यौन दुर्व्यवहारको घटनामा ६१ जना महिला पीडित भएको तथ्यांक रहेको छ ।

सन् २०२१ मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ५५५ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा १ हजार ४३, यौन दुर्व्यवहारको घटनामा ३८३, विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १५ जना बालबालिका पीडित भएको पाइएको छ ।

त्यस्तै सन २०२१ मा देशभरका कारागारमा ७४ कैदीबन्दीको मृत्यु भएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले जानकारी दिए । उनले कारागार र बालसुधारको क्षेत्रमा पनि परिणाममुखी काम हुन नसकेको बताए ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तपबहादुुर श्रेष्ठले मानवअधिकार हननका घटनामा कारवाही सिफारिस गर्दा पनि राज्यले कारवाही गर्न नसकेको बताए । उनले दण्डहिनताको अन्त्य गर्न राज्य पनि गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यस्तै इन्सेकले सन २०२१ मा ३३ वटा अपहरणका घटना, ३५ गिरफ्तारीका घटना र २६६ कुटपीटका घटना भएको जनाएको छ । यसै अवधिमा जातिय बिभेदका २८ घटना भएको इन्सेकले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:५८