सूचनाको शक्ति - The Power Of Information

        

नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक

लुम्बिनीमा मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट १७८६ जना पीडित

अनौपचारीक सेवा केन्द्र इन्सेकद्वारा नेपालगन्जमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रम ।

बाँके । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा शनिबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा.रत्नबहादुर बागचन्दले गरेका हुन् ।

न्यायाधीश डा.बागचन्दले मानवअधिकारको विषयलाई सम्बेदनशीलताका साथ बुझेको बताउँदै अहिलेको समयमा पनि नागरिकको आर्थिक अवस्था कमजोर रहेको, वैज्ञानिक तथा गुणस्तरीय शिक्षा नभएको र राज्यले नागरिकलाई कर्तव्यको बारेमा बुझाउन नसकेकाले मानवअधिकार उल्लङ्घनको घटनामा कमि नआएको बताए ।

न्यायाधीश डा.बागचन्दले अझै पनि समाजमा महिला पुरूष समानरुपमा नलिएका कारण महिलाहरु पीडित भएको बताए । उनले राज्यले बनाएको कानुनको कार्यान्वयन गर्न सबै नागरिकहरूले जोड दिनुपर्ने बताए ।


इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेशको मानव अधिकारको अवस्था र प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड १९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका विषयमा तथ्याङ्क प्रस्तुत गरेका थिए ।

प्रस्तुत तथ्याङ्क अनुसार यस वर्ष इन्सेकले गरेको अभिलेखमध्ये ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए । अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबाट ५२ जना र अन्य पक्षबाट ५ हजार १६३ जना गरी ५ हजार २१५ जना महिला पीडित भए ।

अन्य पक्षबाट भएका घटनामध्ये ६१ प्रतिशत घटना महिला र २५ प्रतिशत घटना बालअधिकार उल्लङ्घनका घटना रहेका छन् । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ७८६ जना पीडित भए ।

गिरफ्तारी घटनामा तीन जना, महिला अधिकार उल्लंघनका घटनामा १ हजार २८४ जना, बाल अधिकार उल्लंघनका घटनामा २९५ जना पीडित भए । यसैगरी, राज्य पक्षबाट ५ जना र अन्यपक्षबाट ४० जना गरी ४५ जनाको हत्या भयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङकरबहादुर रावलले मानव अधिकार वर्ष पुस्तकले घटनाहरूलाई उजागर गरेर पीडितको न्यायीक प्रकृयामा मद्दत पुगेको बताए । रावलले इन्सेकका जिल्ला प्रतिनिधिले न्यून स्रोत साधनका बावजुद पनि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर राज्यलाई सहयोग गरेकोले पुस्तक एकदमै महत्वपूर्ण रहेको बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राज्यले परिचालन गरेका सबै कर्मचारीहरूले मानव अधिकारको संरक्षण गर्न काम गरेको बताए । उनले राज्यले रोजगारीको अवसर ल्याएपनि कानुनको कार्यान्वयन नभएको कारण रोजगारीको अवस्था कमजोर बनेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले मानव अधिकार वर्ष पुस्तकले समग्र मानवअधिकारको विषयलाई स्पष्ट पारेको बताउँदै मानव अधिकार सङरक्षणमा कमी आए सल्लाह सुझाव दिन आग्रह गरे । नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले इन्सेकले मानव अधिकार वर्ष पुस्तकलाई हालसम्म पनि निरन्तरता दिइरहेकोमा खुसी व्यक्त गर्दै महिला हिंसा किन न्यूनिकरण किन भएन भन्ने विषयलाई समेट्नु पर्ने बताए ।

यसैगरी सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानवअधिकार अभिलेख र पैरवीमा प्रदेमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रतिनिधिलाई उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यलाई पुरस्कृत गरिएको छ । वरिष्ठतम् न्यायाधीश डा.रत्नबहादुर बागचन्दले ट्रफी, सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे । पुरस्कारको राशी ७ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:३२