सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि

औद्योगिक कोरिडोर बन्दै गनापुर

बाँके । बाँके जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा ठूला उद्योग खुल्ने क्रम बढ्दै गएको छ । ठुला र नयाँ उद्योग खुल्ने क्रम बढेसँगै गनापुर औद्योगिक कोरिडोरका रूपमा विकास भएको छ ।

औद्योगिक कोरिडोरका रूपमा विकास हुँदै गएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा ६३ वटा ठूला उद्योग सञ्चालनमा छन् । गनापुर औद्योगिक क्षेत्रका रूपमा विकास भइरहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएको उनले बताइन् ।

लगानीकर्ता आकर्षित हुन थालेपछि गाउँपालिकाले पूर्वाधार विकासमा थप लगानी गरिरहेको छ । गनापुरमा उद्योग स्थापना हुने क्रम बढेसँगै गाउँपालिकाले सडक लगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको जानकी–६ का वडाध्यक्ष सुरेश यादवले जानकारी दिए ।

गनापुर क्षेत्र कोहलपुर–नेपालगन्ज राजमार्गमा जोडिएको र नेपालगन्जबाट नजिक भएकाले यहाँ उद्योग थपिने क्रम बढ्दै गएको उनले बताए । गनापुरदेखि पश्चिम जाने बाटोको दुवैतर्फ लहरै उद्योग स्थापना भएका छन् ।

यस क्षेत्रमा ठूला उद्योगका साथै सवारीसाधनका सोरुम, ठूला र स्तरीय होटल रहेका छन् । नेपालगन्जमा ठूला उद्योग स्थापना गर्न जमिनको अभाव रहेको र अति नै महँगो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी व्यवसायीले गनापुरलाई रोज्ने गरेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १६:३६