सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन आर्मी क्लबलाई रग्बीको उपाधी


सञ्जय श्रेष्ठ । काठमाडौं । दोस्रो राष्ट्रिय १५ औं रग्बी पुरुष प्रतियोगिताको उपाधी नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्मीले गोर्खाली रग्बि क्लबलाई ३ स्कोरका विरुद्ध ५ स्कोर गर्दै उपाधीमाथि आर्मिले कब्जा जमाएको हो ।
२ विदेश खेलाडीसहित उत्रिएको गोर्खालीले आफू लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्यो । पहिलो हाफ (२५ मिनेट)मा दुवै टोली स्कोररहित बराबरीमा रोकिए । तर, दोस्रो हाफको सुरुआतमै गोर्खालीले स्कोर गर्दै आर्मीलाई झड्का दिएको थियो । दोस्रो हाफको ४२ औँ मिनेटमा गोर्खालीका लागि पेनाल्टी अवसरमा विदेशी खेलाडी कनर मर्फीले कनभर्जन किक गर्न सफल भएपछि ३–० को स्कोरसहित अग्रता लियो ।
तर, त्यसको ५ मिनेटपछि नै आर्मीका लागि जनक वाइबाले ट्राइ (५ स्कोर) गर्न सफल भए । त्यसलगत्तै पाएको कनभर्जनमा आर्मी सन्जय अधिकारी सफल भएपछि आर्मीले २ स्कोर थप्यो । तर, बाँकी समयमा गोर्खालीले स्कोर गर्न नसकेपछि आर्मी ७–३ स्कोरसहित च्याम्पियन भयो । त्यसैगरी आजै भएको तेस्रो स्थानका लागी आकाश भैरव रग्बी क्लबले हिमालयन रग्बी कल्बलाई ५ स्कोरका विरुद्ध १३ स्कोर गर्दै तेस्रो स्थान बनाउन सफल भएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेको आधार बिजेता टोलि त्रिभुवन आर्मी क्लबका क्याप्टेन कविराज नेवार उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी उदयमानी खेलाडीको उपाधि उपबिजेता टोलि गोर्खाली रग्बीका निशान श्रेष्ठ घोषित हुदा अनुशासित टिमको उपाधी भने हिमालयन टाईगर रग्बी क्लबले प्राप्त गर्यो ।
नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले ‘आगामी दिनमा रग्बी खेलको विकासका लागि र खेलाडीहरुको उच्च मनोबल कायम राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजना गर्ने र खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने प्रतिबद्धता जनाए । प्रतियोगिता नेपाल रग्बी एसोसिएसनको आयोजनामा भएको थियोे ।
प्रतियोगितामा उपाधी जित्ने टोलीलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले मेडल प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा ४ उत्कृष्ट टोलीहरुको सहभागी रहेकोे नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी गराएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार ११:२३