सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

जीवन यात्रा र अनुभूति

परिवर्तनशील समय सँगसँगै गतिशिल यात्रामा नै तल्लीन छौं हामी । सबैका केही न केही सपनाहरु छन् । कसैका पुरा होलान् त कसैका अपूरा ! जे जस्तो भए पनि आइलाग्ने हर परिस्थितिलाई सहजै स्वीकार गरेर जिन्दगीका हर घडीहरूमा कत्ति पनि बिचलित नभएर अगाडी बढ्न सक्ने सामर्थ्य राख्न सक्नु नै जिन्दगी हो । जीवनको अर्थ नै छ संघर्ष, सोच्नुस् संघर्ष भनेको नै लडाइँको मैदान हो । यो मैदान कुनै फिल्मी संसारभन्दा पर छैन ।

किनकी हामी प्रत्येक दिन केही न केही घटनाको पात्र बनिरहेका हुन्छौं । मलाई लाग्छ, हामी सबै एउटै हौ, मात्र कोख फरक छ । जन्मँदा खाली हात आएका हौं र मर्दा पनि खाली हात नै जानेछौं । हुन त संसारिक वर्गीकरणको हिसावमा हाम्रो, चालचलन, भेषभुषा, भाषा, रहनशहन, रितीरिवाज, परम्परा धर्मसंस्कृति आदी इत्यादी फरक छ, अनि कोहि धनि कोहि गरिव र कोहि मध्यम साथै हाम्रो बुझ्ने मन र हेर्ने दृष्टिकोण फरक छ, तर हामीले टेक्ने धर्ती र पुज्ने परमात्मा एउटै हुनुहुन्छ ।

सबैका कथा व्यथा एउटै नै हुन्, व्यक्त गर्ने माध्यम फरक छन् । हिँड्दा हिँड्दै, दौड्दा दौड्दै आउँछन् गोरेटाहरूमा दुःखसुख, असफलता सफलता, हर्ष विश्मात, आँधीहुरी, उकालो ओरालो, मिलन बिछोड, तिता मीठा आदी इत्यादी क्षणहरू होइन र ! तर यत्तिका क्षणहरुको भोगाई तथा अनुभवहरुको संगालो नभए जिन्दगी जिउनुको मज्जा नै कहाँ होला र ! दिमागमा यो चाँहि राखिरहनुपर्यो, मन मिल्नेहरू जोडिँदै जान्छन् अनि नमिल्नेहरू तोडिँदै जान्छन् । हरेक सम्बन्धहरू स्वार्थसँग सम्बन्धीत भएर नै होला कतिबेला जोडिन्छन् अनि कतिबेला छुटिन्छन् पत्तो नै हुँदैन ।

तर समस्या परेको बेलामा साथ दिनेहरु र छोड्नेहरू भने दिलमा छापिएर बसेका हुन्छन्, चाहे आफन्तिहरू हुन् या इष्टमित्रहरू । किनकी सुखद् पलहरुले भन्दा पनि दुःखद् पलहरूले गाँसिएका नाताहरू अति प्रिय हुन जान्छन् । सबैलाई थाहा छ, हामी सबै एकदिन यही माटोमा खरानीको रूपमा विलिन हुनेछौं । मृत्युसँग हार निश्चित छ, तै पनि हामी जितको घमण्ड गर्न छाड्दैनौं । लोभलाभ, रिसराग तेरोमेरो भन्दाभन्दै कुन दिन कुन रातले चलिरहेको श्वास र एकमुठी प्राणले सधैंका लागि त्याग गर्नेछ थाहा छैन ।

यो सत्य हो, दैविक लिलासँग कसैको केही लाग्नेवाला छैन, तर पनि हाम्रो तँछाडमँछाड र प्रतिश्पर्धा यस्तो हुन थाल्यो, कलियुगमा कसैलाई कसैको प्रवाह नै छैन । भए पनि त्यही दिन हुनेछ, जतिबेला एकलाई अर्काको खाँचो पर्दछ । भनिन्छ, धनभन्दा मन ठुलो हो तर यो बोली सुन्दामा मात्र मिठो छ, बुझ्दा तितो यो कलियुग हो । धनबिनाको कर्म फिक्का फिक्का छन् । दैनिक आवश्यक्ताहरु परिपूर्ति गर्न धनको अति जरुरत देखिन थाल्यो । हुन त धन हातको मैला हो, यो कुरा अवगत हुँदाहुँदै पनि यसको पिछा गर्न कहिल्यै छाड्दैनौं ।

धनको मुखै कालो यसैको पछि लाग्दा लाग्दै कोहि करोडपति त कोहि रोडपति बने । खै के खै बुझ्नै नसकिने छ है । रिसराग, घमण्ड, अहंकारले आफैंलाई कमजोर बनाउने हो । बरु यसको शिकार बन्नुभन्दा सके सपारौं नसके नबिगारौं, हातमा हात र काँधमा काँध जोडेर सबैजना एकआपसमा सकारात्मक बिचार अनि सुन्दर मन लिएर जिन्दगीका पर्खालहरू पार गरौं । यस्ता छोटो दिमाग र क्षणीक खुशीको आशा गर्न छाडिदिउँ । आखिर बुझ्दा जिन्दगीमा आउने घुम्तीहरुमा के लिनु के दिनुछ र मात्र आत्माको शान्ति आवश्यकता छ सबैलाई ! सुखी र खुसी जीवनमा निर्भर रहनु छ होइन र ?

वास्तवमा जो आफू स्वयं अरुलाई पनि खुशी बनाउन तत्पर रहन्छ, त्यही व्यक्ति सबैभन्दा सु–सम्पन्न व्यक्तिको रुपमा चिनिन्छ मेरो विचारमा ! किनकी उसले जिन्दगी खुब नजिकबाट बुझेको हुन्छ । सामाजिक मान मर्यादाको पालन गरी सबैसँग हातेमालो गरेर सामाजिक सेवामा लागिपर्नु नै सो व्यक्तिको मुल साक्षात्कार प्रभुको रुप हो, जसले आफु स्वयं अरुको पनि आत्मसम्मानलाई ध्यानमा राखेको हुन्छ । उसँग भौतिक धन सम्पत्तीहरु साथमा नहोला, तर मर्ने बेलामा उसको गुनगान गाउनेहरू र मलामी जानेहरुको भीड तीर्थ जानेहरूको भन्दा कम हुने छैन र सबैको हृदयमा अमर रहनेछ ।

रिसराग, तेरो मेरो धनी, गरिब, अहंकार यी सबै त्यतिन्जेलसम्म मात्र टिकाउ रहनेछन्, जबसम्म हाम्रो शरीरमा जोस जाँगर र ताकत रहनेछ । हामी सबै एक हौं भन्ने भावना जागृत गराएर एकले अर्कोको दुःख सुखमा सामेल हुनु नै अपरिहार्य कार्य हो । सकारात्मक विचार र सुन्दर दृष्टिकोणले नै जीवन सोचे र रोजेजस्तै हुनेछ । सुन्दर मन, सुन्दर विचार, सुन्दर दृष्टिकोणले सजिएको यो जीवन त्यो सुन्दर बगैंचाभन्दा पनि रमणीय र पवित्र हुनेछ । न कसैसँग झैंझगडा त न कसैसँग मनमुटाव, त्यही पवित्र मनले, मायाले हेरिदिए सबै अनमोल साथ हुनेछन् ।

आफु भलो त जगत भलो अनि हाम्रो आ–आफ्नो बुझ्ने र हेर्ने नजर सफा भए संसारै अनमोल रत्न झैं चम्किलो देखिनेछ । आफ्नो जिन्दगी आफैंलाई मुल्यवान लाग्नेछ नपत्याए बिचार गरि हेर्नुहोस् । मनमा पाप लिएर बढे आफैंलाई बेकार लाग्नेछ जीवन । किनकी पापको झुकाव यस्तो छ, सबैको सामुमा शिर नझुके पनि परमात्मासामु दिनहुँ शिर झुक्नेछ यो कुरा हाम्रो अन्तरआत्माले महशुस गर्ने हो । शत्रु र मित्रता बढ्ने घट्ने कुरा पनि हामी आफैंमा भर पर्छ । तर वास्तविक कुरा के भने नी न जो जससँग जति सम्बन्ध प्रगाढ भए पनि जन्मदाता मातापिता, सृष्टिकर्ता, परमात्मा र आफ्नो स्वस्थ शरीरबाहेक मूल्यवान अनि महत्वपूर्ण अरु हाम्रो लागि केही पनि हुन सक्दैन ।

यी सबैको हामीले आदर सम्मान अनि दर्शन ख्याल दिनहुँ गर्न आवश्यक छ, किनकी हर बिहानको सुरुवात सँगसँगै मुहारमा मुस्कुराहट पैदा गर्दै दिनचर्या शुभमय, रंगीनमय र खुसीमय बनाउनु हो अनि कल्याणकारी आशीर्वाद शिरमा राख्नुहोस्, नपत्याए प्रयास गरेर हेर्नुहोस् । किनकी यी बिनाका बाँकी सम्बन्धहरू पनि त्यति खास हुने छैनन् । किनकि जन्मदाता, मातापिताको खुसी र शुभ आशीर्वाद बिनाको जिन्दगी हाम्रो कस्तो होला ? हामीलाई रच्ने सृष्टिकर्ताप्रतिको आस्था र विश्वास नरहे हाम्रो जिन्दगीले कस्तो रुप लिन्छ होला ? अनि स्वस्थ शरीर बिनाको साथ संगत अनि कर्म कस्तो होला ? आफ्नो जीवनको आफैं मूल्यांकन गर्नुहोस् त ? जय जिन्दगी ।।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ११:२८

सिफारिस