सूचनाको शक्ति - The Power Of Information

        

भारतसँग विद्युत् खरिद सम्झौताको म्याद सकिँदै


काठमाडौं । भारतबाट आयात भइरहेको विद्युत् खरिद सम्बन्धी सम्झौता चैत १७ गतदेखि सकिने भएको छ । गत माघ १७ गते भएको सम्झौता सकिने लागेको हो । प्राधिकरणले पछिल्लो पटक तीन महिनाका लागि मात्रै विद्युत् खरिद सम्झौता नवीकरण गरेको थियो ।
विद्युत् व्यापार निगमसँग गरेको सम्झौता किन लागेपछि प्राधिकरणले सम्झौता नवीकरणको तयारी गरेको छ । सम्झौता नवीकरणका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आन्तरिक तयारी भइरहेको सम्झौता नवीकरणका लागि प्राधिकरणको उच्चस्तरीय टोली भारत जाने तयारी गरिरहेको छ ।
ढल्केबर– मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनबाट आयात भइरहेको विद्युत्का बारेमा नै निर्णय गर्नुपर्ने देखिएको छ । भारतले नेपाललाई उपलब्ध गराउने विद्युत्मध्ये सबैभन्दा सस्तो विद्युत् सोही अन्तर्देशीय प्रसारणलाइनबाट खरिद गरिएको छ । सो प्रसारण लाइनबाट प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँमा आयात भइरहेको छ । त्यो भनेको नेपाली मुद्रामा ५ रुपैयाँ ६७ पैसा हो ।
नेपालले खरिद गर्ने विद्युत्मा १३२ केभी प्रसारण लाइन क्षमताको प्रसारण लाइनबाट आयात भएको विद्युत्मात्रै सस्तो रहेको छ । ३३ केभी र ६६ केभी प्रसारण लाइनबाट आयात भएको विद्युत्को मूल्य सबैभन्दा बढी रहेको छ । ती प्रसारण लाइनबाट आयात हुने विद्युत् प्रतियुनिट १० रुपैयाँको हाराहारीमा रहेको छ ।
भारत सरकारको विद्युत् व्यापारका दलाल एजेन्सीले सस्तो दरमा विद्युत् उपलब्ध गराउन नसक्ने प्राधिकरणलाई यसअघि नै जानकारी दिएको छ । तर, प्राधिकरणले केही समय नेपाललाई पुरानै मूल्यमा विद्युत् उपलब्ध गराइदिन आग्रह गर्दै आएको छ । नेपालले हाल भारतबाट करिब ४५० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
त्यसमा ठूलो क्षमताको अन्तर्देशीय प्रसारणलाइनबाट आयात गरिएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट नै हो । सो प्रसारण लाइनलाई ४०० केभीमा चार्ज गर्न सकिने भए पनि नेपालतर्फ ढल्केबरमा सवस्टेशन निर्माण हुन नसक्दा समस्या उत्पन्न भएको छ । चिनियाँ ठेकेदारले करिब ६ प्रतिशत काम सम्पन्न नगरिकन आयोजनाको काम अलपत्र छाडेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् खरिद सम्झौता नवीकरणको आन्तरिक तयारी भइरहेको र केही दिनभित्रै प्राधिकरणको टोली भारत जाने जानकारी दिए । नेपालले रक्सौल परवानीपुर, कुशाहा कटैया, टनकपुर, बुटवल आनन्दपुरलगायतका १० स्थानबाट विद्युत् आयात गर्दै आएको छ । नेपालको ऊर्जा संकट समाधानका लागि भारतबाट विद्युत् आयात भइरहेको सन्दर्भमा भारतीय ऊर्जा दलाल कम्पनीको अनावश्यक शर्तले पनि कहिले काहिँ समस्या पार्ने गरेको स्रोतको दाबी छ ।
तर, समस्या समाधानका लागि प्राधिकरणले गरेको प्रयास सार्थक र सहज नै हुँदै आएको छ । माथिल्लो तामाकोसी जस्ता आयोजना निर्माण सम्पन्न नहुँदासम्म भारतबाट विद्युत् आयात गरिरहनुपर्ने बाध्यतामा प्राधिकरण रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १०:०८