सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन लक्षित एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । सो अभियान फागुन २० गतेदेखि चैत्र २० गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै, बैठकले पार्टीका विभिन्न १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिँदा पनि अधिवेशन गर्न नसकेका १० वटा भ्रातृसंस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको हो ।

भंग भएका भ्रातृसंस्थाको नयाँ तदर्थ समिति बन्नेछ । तदर्थ समिति गठनको अधिकार पार्टीसभापति शेरवहादुर देउवालाई दिएको कांग्रेसले जनाएको छ ।

कार्यसमिति भंग भएका भ्रातृसंस्थामा नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ रहेका छन् ।

यस्तै, बैठकले नेपाल आदीवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि भंग गर्ने निर्णय गरेको छ ।

बैठकले एमसीसी सम्झौंतालाई अनुमोदनमा लागि संसदमा तत्काल टेवल गर्न पनि पार्टी नेतृत्वको सरकारलाई आग्रह गरेको छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमालेले समेत सो सम्झौता विभिन्न काखखण्डमा अघि बढाएकाले सो सम्झौंता अनुमोदनका लागि सबै दलहरुलाई बैठकले आह्वान समेत गरेको प्रवक्ता महतले बताउनुभयो ।

काँग्रेसले एमसीसी राष्ट्रका लागि आएको अनुदान भएपनि त्यसलाई भ्रमित पार्ने काम गरिएको उल्लेख गर्दै भ्रममा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १९:१२