सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटकी बुहारी बनिन् रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् ।

एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । रेखाले दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् ।

‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निर्णय गरेका हौँ । यसलाई जीवन प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु,’ रेखाले भनिन् ।

भर्खरै विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् । बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् ।

उनी पर्यटन व्यवसायी हुन् । रेखाको पहिलो विवाह चलचित्र निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गर्ने गरेकी थिइन् । तर कोसँग विवाह गर्न लागेको भन्ने गोप्य राख्दै आएकी थिइन् ।

अभिनेत्रीको रुपमा हिरो फिल्मबाट करिअर सुरु गरेकी उनले करिब सय बढी फिल्ममा अभिनय गरेकी छिन् । राप्रपा पार्टीसँग आबद्ध रेखा हालसालै महामन्त्रीमा पराजित भएकी थिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ११:१८