काठमाडौं । अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को चर्चा र बिवाद यतिवेला चरम उत्कर्षमा छ । कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ । तर, प्रक्रिया अगाडि नबढेका कारण थप विवाद र बहसको समय प्राप्त भएको छ ।
५०० मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो परियोजना अमेरिकाले अघि सारेको इण्डो–प्यासिफिक स्ट्राट्जी (आइपीएस)को अङ्ग भएका कारण नेपाल स्वतः अमेरिकी सैनिक गठबन्धनमा सामेल हुने, देशको सार्वभौमसत्तामा आँच आउने र असंलग्न परराष्ट्र नीतिको बर्खिलाप हुने भन्दै संसद्बाट अनुमोदन गर्न नहुने आवाज सत्तारुढ नेकपाभित्रै पनि उठेको छ ।
पुसको पहिलो साता सम्पन्न स्थायी कमिटी बैठकमा गरमागरम बहस भएपछि अन्तिम निर्णय लिने जिम्मा नौ सदस्यीय सचिवालयलाई दिइए पनि नेताहरूले यसबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिन छाडेका छैनन् । एमसीसीको चर्चा र बिवाद यतिवेला चरम उत्कर्षमा पुगिरहेका बेला नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणी चौधरीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारलाई सडकका भोकै अमेरिकी जनता मारेर नेपाललाई अनुदान नचाहिएको भन्दै विशेष पत्र लेखेर पठाएका छन् ।
यस्तो छ विशेष पत्रको विवरण
श्री फातिमा सुमार
उपाध्यक्ष, एमसीसी
विषय : तिम्रो ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका पाँच लाख अमेरिकी जनताहरूका सेवामा खर्च गर ।
तिम्रो देशभन्दा म १२ हजार ७२५ किलोमिटर टाढा छु । तिम्रो देश विश्वकै शक्तिशाली राष्ट्र हो भनी मैले राम्ररी बुझेको छु । यसैले तिम्रो देशको हरेक नागरिक र अधिकारीहरूका मनोबिज्ञान पनि समृद्ध होला भनी अपेक्षा गर्नु पनि स्वभाविक नै मान्नु पर्दछ । यसैले मेरो र तिम्रो राष्ट्रका अधिकारीहरूका बीचमा एमसीसी परियोजनामा २०७४ साल भदौ २९ गतेको दिन सम्झौता भयो ।
अनुदान हो भनी हामी नेपाली खुसी भएपनि तिम्रो अधिकारीहरूले ठाउँठाउँमा दिएको अभिव्यक्तिले हामी झस्केको छौँ । शंका गर्ने सुविधा पाएका छौँ । हामी नेपालिहरू तिम्रो ५० लाख डलरको बिषयमा सोझो बुझाइ नै हो तर तिम्रो अधिकारीहरूको रणनीति नै बेग्लै रहेछ । तिम्रो अधिकारीहरूका भनाइ अनुसार त– एमसीसी सैन्य रणनीति पो रहेछ ! इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चीनलाई घेर्ने योजना बनाएका रहेछौ र चीनलाई सताउनको लागि नेपालको भूमिलाई सबैभन्दा उपयुक्त ठाउँ छानेको रहेछौ ।
हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुदैनौँ सबैसँग पञ्चशिलको आधारमा समान व्यवहार गर्दछौँ तर तिम्रो उपस्थितिले हामीलाई तिमिमा संलग्न हुन बाध्य बनाउँछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंल्गना नीति मान्ने राष्ट्रका जनता हो । फातिमा सुमार, तिमी देखिनमा कति सुन्दर छौ ! तर तिम्रो देशको इतिहास कति खराब छ है ! जहाँ जहाँ तिम्रो देशको प्रवेश हुन्छ, त्यो देशको अवस्था सुखद भएको एउटा देश नि भेटेको छैन ।
1st World War र 2nd World War पनि तिम्रो शासकहरूका क्षणिक स्वार्थ– हतियार बेचेर धन कमाउने रणनीतिको कारण युद्ध भएको कुरा धर्तिका कुनै पनि मानव जातिले भुलेका छैनौँ । जुनसुकै नामबाट किन नहोस– तिम्रो राष्ट्रको उपस्थितिले दुनियाँलाई खरानी, मानविय क्षति र सम्पत्तिको नोक्सानी बाहेक अरू केही पनि उपलब्धि छैन । यसैले हामीले तिम्रो सुन्दरतालाई पनि घृष्ण गर्न बाध्य छौँ । तिम्रो देश बाहिरबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दो देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज ओढेर सुतिरहेका छन् । नेपालमा त्यस्तो मान्छे एक जना नि छैन ।
नेपालको जनसंख्याभन्दा करिब दोब्बर ५ करोड ६० लाख जनताहरू गरिबीको रेखामुनि छन् । लाखौँ अमेरिकीहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन् । यसबाट १ बोतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्न बाध्य छन् । तिम्रो देशको उपचार पनि साह्रै महँगो छ । बालमृत्युदर निकै उच्च छ । संसारकै हत्या हुने राष्ट्र हेर्ने हो भने पनि अमेरिका अग्रणी स्थानमा छ । स्कुले विद्यार्थीले चलाएको गोलीबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा आर्थिक विभेद पनि निकै फराकिलो छ ।
यसैले अमेरिकाभन्दा नेपालको अवस्था धेरै राम्रो छ । तिमिले नेपाल राष्ट्र र नेपाली जनताहरूका विषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी आफनै देशमा फर्क, त्यो ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकी नागरिकहरूका उद्दारमा खर्च गर । महँगो औषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनको लागि पोषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसेकम तिम्रो जनताहरूलाई ६ लिटर पानी पिउने व्यवस्था गर । पेटभरि खानाको व्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमिले नेपाल बसाइँ क्रममा पक्कै पनि देख्नुपर्ने हो– कुनै पनि नेपाली भोको र तिर्खाएर बस्नु परेको छैन ।
फातिमा सुमार,
जाँदाजाँदै तिमिसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखिकि छौ तर पनि नेपाली समाजको मनोविज्ञान बुझ्ने किन प्रयास गरेनौ ? हामीलाई चाहिन्न भन्दाभन्दै एमसीसी पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकि छौ ? कहिलेकाँहि घुमाउँरो तरिकाले धम्क्याउँछौ पनि ! तिमिलाई थाहै रहेनछ ! दुनियाको कुनै शक्तिसँग नडराएका हामी नेपाली तिमिसँग डराउने त कुरै छैन । यसैले धम्काउने बन्द गर । यसैले हामीलाई तिम्रो अधिकारीहरूका नियतमा शंका लागिरहेको छ । पहिले पहिले त हामीलाई बुँदाहरू सुधार गरेर पास गरौँ भन्ने लागेको थियो । तर आजभोलि तिम्रो व्यवहारले सुधारको पनि कुनै सम्भावना देखिँदैन । यसैले Go Back MCC
उही
मेटमणि चौधरी
नेपाल,
२०७८ फागुन २
।