– विकास जिसी
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको यूगान्तकारी परिवर्तन सँगसँगै २१सौं शताब्दीको यात्रामा लागेको वर्तमान समयले आजको यूगलाई विज्ञान र प्रविधिको यूग हो भन्ने कुरा पुष्टि गरिसकेको छ । मानवको दैनिक जीवन एवम् विकासको लागि अपरिहार्य पूर्वाधार र समग्र विकास ब्यवस्थापनको क्षेत्र प्रविधिमा निर्भर छ ।
हरेक कार्यको निम्ति आधारभूत औजारका रुपमा रहेको सूचना र सञ्चार प्रविधिले मुलुकको सर्वाङ्गीण विकासमा विशिष्ट महत्व राख्दछ । सूचना तथा सञ्चार प्रविधिको सक्षमता र प्रभावकारीतामा निर्भर हुँदा नागरिकलाई जागरुक र चेतनशील तुल्याई सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न सम्पादन गरिने सम्पूर्ण क्रियाकलाप ब्यवस्थित ढंगले सञ्चालन गर्न यस क्षेत्रको विकास, विस्तार, प्रयोग र परिचालन अनिवार्य छ ।
त्यसैले कुनै पनि कार्य सम्पादनका लागि सूचनालाई शक्तिको रुपमा लिइन्छ । यसै शक्तिलाई प्रयोग गरी जानकी गाउँपालिकालाई सूचना प्रविधिमैत्री पालिकाका रुपमा विकास र कागजी प्रयोगमा कमी गर्दै लैजाने उद्देश्य अनुसार विभिन्न क्रियाकलाप भइरहेका छन् । सूचना तथा सञ्चार प्रविधिको व्यवसायीक विकास गर्दै सूचना प्रणालीसँग सम्पूर्ण पालिकाबासीलाई आवद्ध गराउन विशेष जोड दिइरहेका छौं ।
हामीलाई हरपल सूचना तथा सञ्चार प्रविधि आवश्यक छ । सूचना तथा सञ्चार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना गर्न चाहन्नौं । जुनसुकै बेला पनि हामी प्रविधिसँग अध्यावधिक हुँदै जानुपर्ने हुन्छ । हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ, त्यसमा पनि सूचना तथा सञ्चार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा सञ्चार प्रविधिबाट अलग रहन सक्दैनौं ।
व्यक्तिगत जीवन मात्र नभई सार्वजनिक क्षेत्रमा पनि सूचना तथा सञ्चार प्रविधि उत्तिकै महत्वपूर्ण छ । चाहे हामीले गर्ने दैनिक क्रियाकलापहरु होउन् या सार्वजनिक क्षेत्रहरुवाट दिइने सेवाहरु होउन्, कुनै न कुनै रुपमा सूचना प्रविधिसँग प्रभावित हुन्छौं । सेवाग्राहीहरुको बढी भीडभाड हुने सार्वजनीक निकाय भनेको स्थानीय निकाय नै हो । स्थानीय तहबाटै जहाँ हाम्रा आधारभूत विवरण जस्तै जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध विच्छेद आदी घटना दर्ता गरी अभिलेख राखिएको हुन्छ ।
साथै सामाजिक सुरक्षा भत्ता, आवाधिक, वार्षिक योजना, पालिकाको वस्तुगत विवरण, भएका गतिविधि एवं विपद्का विविध विवरणहरु पनि अभिलेख गरी राखिन्छ । जसले गर्दा अभिलेखहरु छिट्टै ह्रास हुने एवं खोज्दा नपाइने समस्या हुन्छ । यस्ता खालका समस्यालाई सूचना प्रविधि प्रयोगले छिटोछरितो र पारदर्शीरुपमा सम्पन्न गर्न निकै सहज र सरल बनाउँदै आएको छ ।
स्थानीयस्तरमा विकासका गतिविधिहरु सञ्चालन गर्ने एवं जनताको नजिक रहेको र नागरिकको बढी चासो रहेका स्थानीय निकायहरुलाई आधारभूत एकाईका रुपमा लिन सकिन्छ । प्रविधि प्रयोजनका लागि प्रविधिको साथसाथै कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने र स्थानीय रुचीका साथै सेवाग्राहीको चेतनास्तर र पहुँचको राम्रो ख्याल गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्दछ ।
नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिमा नागरिकको बढ्दो रुची तथा प्रविधिको पहुँचले सेवा प्रवाहमा स्थानीय निकायले सूचना तथा सञ्चार प्रविधि प्रयोगलाई अनिवार्य बनाइदिएको छ । यसले सेवा प्रदायक र सेवाग्राही दुवैलाई फाइदा पनि पुगेको छ । स्थानीय निकायका कर्मचारी तथा सेवाग्राहीहरु यसबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा लाभान्वित छन् । सूचना तथा सञ्चार प्रविधिको प्रयोग र सक्षम कर्मचारीबाट मात्रै चुस्तदुरुस्त र गुणस्तरीय सेवा नागरिकलाई प्रदान गर्न सकिन्छ ।
नेपालमा अझै पनि ठुला–ठुला फाइलहरुको चाङले ओगटेको धेरै कार्यालयमा देख्न सकिन्छ । नागरिकले सूचना माग गर्यो भने ति ठुला–ठुला फाइलहरु खोज्ने र किराले खाएर धुजाधुजा भएका ढड्डा पल्टाउने गरिन्छ । हामीले खोजेको सूचना पत्ता लगाउन धेरै समय खर्चिंनुपर्ने हुन्छ । धेरै कर्मचारी यस्तै काममा व्यस्त हुनुपर्ने हुन्छ । यति गर्दा काम बन्छ कि बन्दैन टुङ्गो हुँदैन । यसले सेवा प्रदायक र सेवाग्राही दुवै पीडित हुनुपर्ने अवस्था छ ।
यस्तो परिपाटीको अन्त्य गर्न पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य छ । अझ आर्थिक उदारीकरणको नीति अवलम्बनसँगै यस क्षेत्रमा नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको र निजी क्षेत्रबाट सूचना प्रविधि शिक्षा, सूचना प्रविधिको प्रयोग र सूचना प्रविधि सम्बन्धी जनशक्तिको विकासमा उल्लेखनीय योगदान छ । दिनप्रतिदिन बढ्दै गइरहेको सूचना तथा प्रविधिको विकाससँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गइरहेको छ ।
नेपालको सन्दर्भमा सूचना प्रविधि, विद्युतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नयाँ आयामका रुपमा लिन सकिन्छ । सूचना प्रविधिको द्रुततर विकासले नेपालजस्ता अल्पविकसित मुलुकहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सूवर्ण अवसरहरु प्रदान गरेको छ ।
अहिले सबैभन्दा धेरै जनसम्पर्क चाहिने तहहरू, सरकारी, गैरसरकारी संस्थाहरू, जनताको सेवामा काम गरिरहेका सार्वजनिक तहहरू, उद्योग तथा व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुनै पनि क्षेत्र सूचना प्रविधिको उपयोगविना अपुरो हुन्छ । प्रविधिले एकदमै फट्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव उत्तिकै परेको छ । विद्यालय शिक्षा सिकाइमा पनि यसको उत्तिकै प्रभावमा पर्नु हाम्रो लागि कुनै आचश्र्यको कुरा होइन ।
कक्षाकोठामा शिक्षा र सिकाइमा प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई शिक्षा दिनु डिजिटल शिक्षा र सिकाई हो । गए ती दिनहरु जहाँ विद्यार्थीहरु कापी, कलम बोकेर स्कुल आउँथे र शिक्षकहरुले कालोपाटी सेतोपाटीमा पढाउथे । यी कुराहरु डिजिटल प्रविधिले बदलिसकेको छ । विद्यार्थीहरु अब ल्यापटप, ट्याब्लेट बोकेर पढ्न थालेका छन् र शिक्षकहरु पनि प्रोजेक्ट, ल्यापटप र अरु डिजिटल सञ्चारका मध्यमबाट शिक्षा प्रदान गर्नेछन् ।
सूचना तथा सञ्चार प्रविधि हाम्रो व्यक्तिगत जीवनमा मात्र होइन सार्वजनिक जीवनमा पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रो सार्वजनिक जीवन सार्वजनिक तहले प्रदान गर्ने सेवा प्रवाहद्वारा प्रत्यक्षरुपमा प्रभावित हुन्छ । स्थानीय तहहरु भनेको स्थानीयस्तरमा विकासका गतिविधि सञ्चालन गर्ने आधारभूत इकाई हुन् । जनताका प्रतिनिधिद्वारा परिचालित हुने यी इकाईहरुले विषयगत कार्यालयहरु र सरोकारवाला तहहरुसंग समन्वय गरी विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
त्यसैले सरकारी कार्यालयहरुमध्ये स्थानीय तहका कार्यालयलाई सर्वसाधारणको बढी चासो हुने कार्यालयको रुपमा लिन सकिन्छ । यसकारण पनि स्थानीय तहले कुनै प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अघि कर्मचारीको क्षमता र रुचीका साथै जनताको चेतनास्तर र पहुँचको पहिचान गर्नुपर्दछ । स्थानीय तहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुको पछाडी धेरै फाइदा छन् । पहिलो त डिजिटाइज गरिएपछि सूचना प्राप्त गर्न सजिलो हुन्छ जुन विकासको लागि अति आवश्यक कडी हो ।
दोश्रो जटिल कामहरु पनि सहज तरिकाले गर्न सकिने हुनाले थोरै समयमा धेरै काम गर्न सकिन्छ । त्यसैगरी फाइल र ढड्डाको प्रयोगमा कमी आएर कार्यालय सफा र चिटिक्क देखिन्छ । अनि डिजिटाइज गरिएका सूचनाहरु लामो समयसम्म सुरक्षित राख्न सकिन्छ जुन आवश्यक परेको बेलामा पुनस्प्रयोग गर्न सकिन्छ । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । कर्मचारीले आफुलाई चाहिने सफ्टवेयर प्रयोग गर्न सक्छन् ।
आफ्नो शाखा र जिम्मेवारी अनुसार सफ्टवेयर फरक फरक हुनसक्छ । इन्टरकमको प्रयोग गरी अन्तर शाखाबीचको सम्पर्क र समन्वय प्रभावकारी बनाउन सकिन्छ । कार्यालय प्रमुखले सिसि टिभीमार्फत आफ्ना कार्यालयको विभिन्न शाखाहरुमा भइरहेको कार्यसम्पादन र अनुगमन गर्न सक्छन् । नागरिकको नजिक भएर कार्य गर्ने स्थानीय तहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुको पछाडी धेरै फाइदा छन् । हाल जानकी गाउँपालिकामा भएका गतिविधिलाई पनि तुलनात्मक रुपमा समावेश गरिएको छ ।
सम्बन्धीत विषयमा हाल भइरहेका गतिविधिहरु
१. कार्यालयका चिठी, प्रतिवेदन, फारम, गतिविधि, योजना, वैठकका निर्णय लगायत विविध विषयहरुलाई कम्प्यूटरमा प्रविष्ट गरी मागेको समयमा सूचना दिने व्यवस्था गरिएको छ । साथै प्रत्येक कोठामा डेष्कटप र प्रिन्टरको व्यवस्था गरिएको छ । सेवाग्राहीले मागेको सूचनाहरु तुरुन्त दिन र अध्यावधिक गरी सूचना दिन सहयोग भएको छ ।
२. कागजी प्रयोगलाई कम गर्ने कार्यलाई प्रोत्साहन दिँदै वेभसाइट, एसएमएस, कम्प्यूटर, पेनड्राइभ, प्रोटेवल हार्डडिस्क, ल्यापटप लगायत मोवाइल एप्सको प्रयोगमा वृद्धि भएको छ । फाइलको ढड्डालाई विस्तारै कम प्रयोगमा ल्याउने कार्यलाई प्रोत्साहान दिइएको छ । जसले लामो समयसम्म तथा सुरक्षित गरी राख्न विभिन्न प्रविधिको प्रयोग हुँदै आएको छ । तर अझै पनि फाइलको चाङ भने देख्न सकिन्छ ।
३. पालिकालाई सूचना प्रविधिमैत्री बनाउन ईमेल, ईन्टरनेट, वेभपेज, मोवाइल एप्स, मोवाइल, लेड्म्यासेज डिस्प्ले, Digital Information Desk with Citizen Charter, समुहगत एसएमएस,Finger touch attending system, Facebook, Intercom Systems आदीले सञ्चार प्रविधिमैत्रका लागि विभिन्न साधनहरु जस्तै कम्प्यूटर, ल्यापटप, मोवाइल, टेलिफोन, फ्याक्स, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, आदी प्रयोगमा आइरहेको छ ।
४. पालिकाको गतिविधि वेभसाइट, मोवाइल एप्सबाट देख्न सकिन्छ भने पालिकाको विस्तृत जानकारी मूलक विषयहरु श्रव्यदृश्यबाट पनि देख्न सकिन्छ ।
५. कार्यालयमा औंला छापको माध्यमबाट हाजिरी गर्ने प्रविधि प्रयोगमा ल्याइएको छ । जसले कार्यालय आएको समय र कार्यालयबाट बाहिर गएको समय हेर्न सकिन्छ ।
६. सबै कर्मचारीलाई क्षमता अभिवृद्धी गर्न बेलाबेलामा कम्युटर तथा सूचना प्रविधि सम्बन्धी तालिम दिइने व्यवस्था गरिएको छ । साथै कर्मचारीलाई कम्प्युटर वा ल्यापटपको पनि व्यवस्था कार्यालयले गरेको छ ।
७. लेखा, योजना तथा सूचना प्रविधि शाखामा सफ्टवेयरमार्फत काम भइरहेको छ भने अन्य शाखामा पनि आवश्यकता अनुसार सफ्टवेयर निर्माण गर्दै लगिने व्यवस्था गरिएको छ ।
८. टेलिफोन सेवा (Intercom system)बाट विभिन्न शाखाको टेलिफोन सेटमार्फत् सूचना एवं खबर लिनेदिने कार्य भइरहेको छ । साथै टेलिफोनबाटै उपस्थिति तथा कार्यक्रमका लागि अनुरोध गरिन्छ ।
९. कार्यालयमा सेवाग्राहीहरुको भीडभाड हुने शाखाहरु देखिने गरी सिसि क्यामेरा जडान गरिएको छ । उक्त क्यामेराको माध्यमबाट कार्यालय प्रमुखले आफ्नै कार्यकक्षमा बसेर सेवाग्राही र शाखाका कर्मचारीबीच भइरहेको गतिविधिलाई अनुगमन गर्न सक्नुहुनेछ ।
१०. पालिकाका वडा कार्यालयमा भने आवश्यक नदेखिएकोले व्यवस्था गरिएको छैन । यदि भीडभाड हुने भएमा पालिकाले राख्नुपर्ने बाध्यता रहन्छ ।
११. नागरिकले घरमै बसेर कार्यालयका सूचना, पालिकाको इमेल, वेभपेज, मोवाइल एप्स, सामाजिक सञ्जाल आदिबाट प्राप्त गर्न सक्छन् ।
१२. टोल फ्री नम्बर हाल नभएको तर अन्य प्रविधि प्रयोग गरी कार्यालयको सेवा सुविधाबारे जानकारी लिन सकिन्छ ।
१३. ईमरजेन्सी बैठक, परिषद, सार्वजनिक सुनुवाई तथा अन्य सभा, समिक्षा, गोष्ठी, छलफल एवं अभिमुखीकरण कार्यक्रममा निमन्त्रणा एवं सहभागी गराउन समुहगत एसएमएस प्रणालीको प्रयोग भइरहेको छ ।
१४. पालिकाको ईमेल वा प्रत्येक कर्मचारीको ईमेलमार्फत माग गरेको विवरण तथा कागजातहरु पठाउन सकिने व्यवस्था छ भने ईमेलमार्फत जानकारी दिने, सहभागी गराउने र आवश्यक विवरणहरु पालिकाले प्राप्त गर्ने व्यवस्था छ ।
१५. आगामी समयमा राजस्व, दर्ता चलानी र सामाजिक सुरक्षा शाखाहरुमा सफ्टवेयर तथा अनलाइन इन्ट्री गरी सुदृढीकरण गर्दै लगिनेछ ।
सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट मात्र सुशासन हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपालले अंगीकार गरेको छ । E-Governance अर्थात् विद्युतीय शासनको अवधारणा कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि अपरिहार्य छ । विद्युतीय शासनले स्थानीय निकायको उत्तरदायीत्व र पारदर्शीतामा जोड दिन्छ । जुन असल शासन र तीव्र विकासका सूचक हुन् । तसर्थ राष्ट्रको समग्र विकासको लागि स्थानीय निकायहरु सूचना तथा सञ्चार प्रविधिमैत्री हुनु आवश्यक छ । (लेखक जानकी गाउँपालिका, बाँकेका सूचना प्रविधि अधिकृत हुन् ।)
।