सूचनाको शक्ति - The Power Of Information

        

को–को हुन् खाली कागजमा हस्ताक्षर नगर्ने एमालेका पाँच सांसद ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गर्दा पाँच सांसदले त्यसमा हस्ताक्षर गर्न नमानेको खुलेको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमालेले विषय बस्तु नखुलाई खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।

त्यो हस्ताक्षरलाई जुनसुकै बेला प्रयोग गर्न सकिने एमालेका नेताहरुले बताइरहेका छन् । उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका पाँच सांसदले खाली कागजमा भने हस्ताक्षर गर्न मानेनन् ।

एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा नेताहरु भीम रावल, घनश्याम भूसाल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन् ।

तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए । कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै उनीहरुले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

बैठकमा सांसद रावलले कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, त्यो लेखेर ल्याएपछि आफूले विचार गर्ने तर, खाली पानामा हस्ताक्षर नगर्ने बताएका थिए । बैठकमा उपस्थित ९७ सांसदमध्ये ५ जना बाहेक बाँकी सबैले खाली कागजमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०८:०६