सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आज सशस्त्र द्वन्द्व सुरु भएको दिन, घाइते र बेपत्ताको अवस्था दर्दनाक !

काठमाडौँ । आज फागुन १ गते अर्थात ‘सशस्त्र द्वन्द्व’ सुरु भएको दिन । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ साल फागनु १ गतेदेखि थालेको सशस्त्र द्वन्द्वलाई ‘जनयुद्ध’ दिवस भन्ने गरेपनि यसलाई जनयुद्ध मानिएको छैन । सबै पक्षबाट सशस्त्र द्वन्द्वकै रूपमा यो परिचित छ ।

तत्कालिन विद्रोही समूह नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६२ मंसिर ५ गते बृहद शान्त्रि सम्झौतासँगै सकिएको थियो । तत्कालिन सरकार र विद्रोही माओवादीबीच वृहद शान्ति सम्झौता भएको थियो । सशस्त्र द्वन्द्वका क्रममा सत्र हजार बढीको ज्यान गएको थियो । हजारौँ घाइते भएका थिए । त्यसमध्ये तीन हजारभन्दा धेरै अझै बेपत्ता छन् ।

द्वन्द्वका क्रममा घाइते भएकाहरूले उपचार र राहत पाउन नसकेको भन्दै अहिले पनि गुनासो गर्ने गरेका छन् । तत्कालिन सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादीका नेताहरू सत्तामा पुगेपछि घाइते र बेपत्ताका परिवारलाई बेवास्ता गर्ने गरेको गुनासो पनि धेरैको छ ।

सशस्त्र द्वन्द्वकै बलमा नेपालमा २४० वर्षे राजतन्त्र समाप्त भएर लोकतन्त्र, गणतन्त्र र संघीयता आएको दाबी तत्कालिन माओवादीका नेताहरूले गर्ने गरेका छन् । तर संवैधानिक राजतन्त्र नमान्ने कांग्रेसको निर्णय र कांग्रेसको निर्णयमा सहमति जनाउने तत्कालिन नेकपा एमालेको निर्णयका कारण राजसंस्था सदाका लागि समाप्त भएको थियो ।

जनताको दुःख जहाँको त्यही रहेको र नेताहरू भने सत्ताको फोहोरी खेलमा लागेको घाइते र बेपत्ता भएका परिवारको आरोप छ । सशस्त्र द्वन्द्वको थालनी भएको दिनको सम्झनामा आइतबार काठमाडौँ लगायत देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । नेकपा दाहाल-नेपाल समूहले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यक्रम गर्दैछ ।

यस्तै बेपत्ताका परिवारले बुद्धनगरमा कार्यक्रमको आयोजना गरेका छन् । सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरूको समस्या समाधान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरेको छ । राजनीतिक दलका नेताहरूको सहमति र स्वार्थ नमिल्दा आयोगले प्रभावकारी काम गर्न सकेको छैन । आयोगका एक पटकका पदाधिकारीले आफ्नो कार्यकाल गुजार्दासम्म पनि समस्याको समाधान निस्किएन ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०७:५५