सूचनाको शक्ति - The Power Of Information

        

समाचार

विपदका आश्रयस्थल बने फत्तेपुरका ‘सामुदायीक भवन’

बाँके । विगत केही वर्षयता सामुदायीक स्थानीय सरकार तथा अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले गाउँगाउँमा बनाएका सामुदायिक भवन अन्य समयमा मात्रै नभएर आपतविपदमा समेत उपयोगी बन्दै गएका छन् ।

गाउँबस्तीमा हुने भेला, बैठक तथा छलफल गर्ने थलोका रुपमा प्रयोग भइरहेका तीनै सामुदायिक भवनहरु आपतविपतमा समेत उपयोगी बन्दै गएका छन् । समुदायको अपनत्व रहने गरेर निर्माण गरिएका सामुदायिक भवनहरु आपतविपतमा सेल्टरका रुपमा प्रयोग गर्न बहुउपयोगी बनेको स्थानीयहरु बताउँछन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँगै यसबाट जोगिनका लागि क्वारेन्टिनको खोजी भइरहेका बेला सामुदायिक भवन बहुउपयोगी सावित भएका थिए । यसअघि पनि विभिन्न प्राकृतिक विपत्ति जस्तैः भूकम्प, बाढीपहिरो लगायतमा उपयोग हुँदै आएका सामुदायिक भवनहरु कोरोनाकालमा पनि निकै उपयोगी बनेका थिए ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि स्थानीय तहमा सरकारी एवं गैरसरकारी संघसंस्थाले निर्माण गरेका सामुदायिक भवनलाई क्वारेन्टिनमा रुपान्तरण गरियो । विशेषतः भारत लगतयतका अन्य मुलुकबाट आएका सर्वसाधारणलाई लक्षित गरी ती भवनहरुमा क्वारेन्टिन निर्माण गरिएको थियो ।

कोरोना संक्रमण रोकथाममा प्रभावकारी भूमिका खेलेको राप्तीसोनारी गाउँपालिका वडा नं.७ ले पनि गाउँबस्तीमा हुने भेला, बैठक, छलफल र परम्परागत रुपमा आयोजना गरिने कार्यक्रम लगायतका कार्यक्रम तथा अन्य आपतविपतका समयमा उपयोग गर्नका लागि वडाका दुई स्थानमा सामुदायिक भवन निर्माण गरेको छ ।

‘बाढी प्रभावित वडा रहेकाले पनि विपतका बेला आश्रयस्थलका रुपमा प्रयोग होस् भन्ने उद्देश्यले भवन निर्माण गरेका हौं,’ वडाध्यक्ष रामलखन थारुले भने । उनका अनुसार समुदायमा हुने बिभिन्न परम्परागत कार्यक्रमहरु साथै विभिन्न राजनीतिक दल, आमा समुह, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतलाई पनि गाउँबस्तीमा भेला, बैठक, छलफल सामुदायिक भवन उपयोगी हुनेछन् ।

गाउँबस्तीस्तरबाटै माग भएपछि सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष थारुले जानकारी दिए । उनका अनुसार २०७८ असोज अन्तिमसम्म दुवै भवनको निर्माण कार्य ९० प्रतिशत पुरा भएको र झ्याल ढोका र शौचालयका केही काम मात्रै बाँकी छन् । वडाध्यक्ष थारुका अनुसार यस वडाको देउपुरामा चार कोठे भवन निर्माण गरिएको छ, जहाँ भवनसहितको दुई वटा पक्की शौचालय निर्माण गरिएको छ ।

वडाकै निबुवाटारमा ६ कोठे सामुदायिक भवन निर्माण गरिएको छ र त्यहाँ पनि शौचालयको काम केही बाँकी छ । देउपुरामा ‘बी ग्रुप’को रु.६ लाख ८१ हजार ८०० र वडा कार्यालयको रु.९ लाख गरी रु.१५ लाख ८१ हजार ८०० को लागत तथा स्थानीयको जनश्रमदानमा चार कोठे भवन निर्माण गरिएको हो । त्यस्तै निबुवाटारमा पनि ‘बी ग्रुप’कै रु.७ लाख, वडा कार्यालयको रु.५ लाख र कुसुम्या सामुदायिक वनको रु.८ लाख गरी रु.२० लाख लागतमा ६ कोठे भवन निर्माण गरिएको हो ।

‘निर्माण गरिएका सामुदायिक भवनले प्राकृतिक विपत्तिको समयमा ठूलै राहत पुर्याउने हाम्रो विश्वास छ,’ वडाध्यक्ष थारुले भने, ‘आपतविपतका बेला यी भवनको भरपुर उपयोग गरिनेछ ।’ निर्माण गरिएका सामुदायिक भवनहरु सामाजिक गतिविधि र सामुहिक हितमा प्रयोग गरिने उद्देश्य रहेको वडाध्यक्ष थारुले जानकारी दिए । खासगरी राप्तीमा आउने बाढीका कारण हुने क्षति कम गर्न र सामुदायिक भवनले भूमिका खेल्ने वडाध्यक्ष थारुले बताए ।

बाढीको समयमा सर्वसाधारणलाई सुरक्षित राख्नका लागि सामुदायिक भवन बहुउद्देश्यीय आश्रयस्थलका रुपमा उपयोगी हुने पनि उनले बताए । बाढीको समयमा डुवानबाट जोगिन उच्च स्थानमा निर्माण भएका सामुदायिक भवनले सबैलाई राहत हुने बताउँदै यसले आगामी दिनमा दैवी प्रकोपजन्य घटना न्यूनीकरणमा कमी आउने पनि उनको विश्वास रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १७:१२