बाँके । बाँके हिरमिनियाका केलारामले थर ‘महाउत’ लेख्छन् । उनको अघिल्लो पुस्ताले ‘मगन्ता’ लेख्ने गर्थे । मगन्ता भनेको मागेर खाने जात हो । केलारामका अघिल्लो पुस्ताले पनि मागेरै जीवन गुजारा गरे । केलारामको पुस्तामा आइपुग्दा पढ्न लेख्न थाले । केलाराम स्वयं एसएलसी पास छन् ।
केलाराम भन्छन्, ‘मगन्ता लेख्दा मागेर खाने जात हो भन्दै हेँला र छूवाछूतको व्यवहार हुन्थ्यो । हामीले आत्मसम्मानका साथ बाँच्न चाहेकाले थर परिवर्तन गरेका छौं ।’ हिरमिनियामा मगन्ताको ११२ घरपरिवार छन् । त्यो गाउँलाई मगन्ता टोल नै भनिन्थ्यो । पछिल्लो पुस्ताले मगन्ता टोललाई महाउत टोल भन्न थालेको छ ।
केलाराम थप्छन्, ‘अघिल्लो पुस्ताको नागरिकतामा मगन्ता थर छ । पछिल्लो पुस्ताले महाउत लेखाइरहेका छन् । यो भनेको बाबुबाजेले जसरी मागेर खाने होइन कि आफैले काम गरेर खानुपर्छ भन्ने हो ।’ गाउँमा अझै पनि बुढापाकाले मागेर खाने गर्दछन् । छोरा पुस्ताले मागेर होइन, काम गरेर खानुपर्छ भन्ने सिकाइरहेका छन् ।
महाउत टोलका युवाहरुले अहिले अटोरिक्सा चलाउँछन् । मजदुरी गर्छन् । केलाराम विदेश (दुबई) गएर आए । अहिलेको पुस्ताले छोराछोरीलाई पढाइरहेका छन् । केहीले निजी विद्यालय त धेरैले सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाइरहेका छन्, महाउतमा परिवर्तन आइरहेको छ । बाँके र बर्दियाका केही ठाउँमा गरेर ३०० घरधुरी जति छन्, महाउत ।
बाँकेको हिरमिनियाको अलावा चौफेरी र बर्दियाको बेलवामा मगन्ताको बसोबास छ । चौफेरी र बेलवाका बासिन्दाले मगन्ता नै लेखिरहेका छन् । ‘अरु मानिसले घृणा गर्ने भएकाले हामीले थर र पेशा परिवर्तन गरेका छौं । बाँकेको चौफेरी र बर्दियाको बेलवाका बासिन्दाले अझै पनि मगन्ता नै लेख्छन्,’ केलारामले भने, उनीहरुमा विस्तारै परिवर्तन आउला । थर उही राखेर पेशा परिवर्तन गर्ने पनि हुनसक्छ ।’
मगन्ता वा महाउत जाति सूचीकृत छैन । यो जातिलाई सूचीमा राख्ने कुरा हुँदा कतिपयले महाउत भनेको हात्ती डुलाउने मान्छेलाई भन्छन् भनेर बेवास्ता गरेको केलारामले सुनाए । सम्मानपूर्वक बाँच्नका लागि युवा पुस्ताले थर र पेशा परिवर्तन गरे पनि अझै गाउँको अवस्था उस्तै छ । महाउत समुदायमा गरिबी उस्तै छ । गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनेहरु सक्रिय छन् ।
बाँकेमा गरिबलाई सहयोग गर्नेभन्दा महाउतको गाउँ सम्झिने गरिन्छ । चिसोमा गरिब विपन्नलाई न्यानो कपडा वितरण गर्दा पनि महाउत टोल छुटेन । नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगन्ज क्लव, जिल्ला विपद् व्यवस्थापन समितिले महाउत टोलमा कम्बल सहयोग गरे । गाउँका पढेका र चल्ताफुर्ता युवा केलाराम आफ्नो जातिको उत्थानमा लागिपरेका छन् । गाउँमा समूह बनाएका छन् । ३२ घर समूहमा बसेका छन् ।
मासिक १०० रुपैयाँ संकलन गरिएको छ । धेरैजसोले सुँगुर पालेका छन् । विभिन्न ठाउँमा माग्न जादा आफूहरुलाई ‘उमेर छ, हातखुट्टा राम्रा छन् । किन मागेर खान्छौं ?’ भनेर प्रश्न तेर्स्याउने गरेको अघिल्लो पुस्ताले सुनाउँदा पछिल्लो पुस्ताले त्यो वाक्यबाट आत्मसम्मान गिरेको महसुस गर्ने गरेका छन् । युवा पुस्ताको प्रयासलाई अघिल्लो पुस्ताका केहीले थर परिवर्तन गरेर सहयोग गरे पनि पेशा जारी राखेर चुनौती भने दिइरहेका छन् ।
।