सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राप्ती नदीको तटबन्ध भत्किएपछि स्थानीयवासी चिन्तित

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, झगडिया गाउँ नजिक राप्ती नदीमा निर्माण गरिएको बाँध भत्किएपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् । बाँध भत्किएको छ महिना पुग्न लाग्दासमेत मर्मत सम्भार नगरिएकाले आगामी वर्षामा बाढीबाट कटान र डुबान हुने चिन्ता स्थानीयवासीमा छ ।

स्थानीय दुर्गा पाण्डेका अनुसार नेपाल राष्ट्रिय आधारभूत विद्यालय खल्ला झगडिया नजिकै रहेको राप्ती नदीको तटबन्ध र बाँध बाढीले भत्काएपछि मर्मत सम्भार गरिएको छैन । जेठ महिनाभित्र बाँध मर्मत नभए झगडिया, गेदावा, फत्तेपुर, सोनपुर्वा र नरैनापुर गाउँपालिकाको मटेहिया गाउँमा बाढी पस्ने उनले बताए ।

मर्मतका लागि स्थानीय अगुवाले गत मङ्सिर १४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा एक ज्ञापनपत्र बुझाएकोमा सो ज्ञापनपत्रको कुनै सुनुवाइ नगरिएको अर्का स्थानीय रामसागर मौर्यले बताए । सो क्षेत्रमा यसअघि नै सयौँ बिघा जग्गा राप्ती नदीको कटान र डुबानमा परिसकेको छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले थप क्षति रोक्न तत्काल बाँध मर्मतको माग गरिएको बताए । राप्तीसोनारी गाउँपालिका–७ को वडा कार्यालयले पनि बाँध मर्मतको माग गर्दै सिफारिस गरेको छ तर अहिलेसम्म पनि मर्मत सुरु नभएको जनाउँदै स्थानीयवासीले तत्काल सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिन थालेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार ०९:२९