काठमाडौं । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसाथ तीन दिनसम्म मनाइने भएको छ । आउँदो फागुन ६, ७ र ८ गते सो दिवस मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ मूल समारोह समिति गठन भएको छ ।
दिवस मनाउन प्रचारप्रसार उपसमिति, सांस्कृतिक, साहित्यिक तथा अतिरिक्त क्रियाकलाप उपसमिति, मञ्च सजावट तथा व्यवस्थापन र ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
फागुन ६ गते साँझ सबै देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आआफ्नो घर, कार्यालय वा सार्वजनिक स्थलमा दीपावली गरिने भएको छ । प्रजातन्त्रको महत्वबारे सञ्चारमाध्यमबाट कार्यक्रम प्रकाशन तथा प्रसारण गर्ने, विशेषाङ्क प्रकाशन गर्नेलगायतका कार्यक्रम फागुन ६ गते राखिएको मूल समारोह समितिले जनाएको छ ।
फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गरी नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम छ । टुँडिखेलको औपचारिक मूल समारोहमा जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक प्रतिष्ठानका पदाधिकारीको सहभागिता रहने प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले बताए ।
फागुन ८ गते सबै देशवासी, सार्वजनिक निकाय र सरकारले आआफ्नो घर, कार्यालय वा सार्वजनिक स्थलमा साँझ दीपावली गरिने कार्यक्रम तय गरिएको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा तीन दिन नै राष्ट्रिय झन्डा फहराउने र साँझमा दीप प्रज्वलन गरिनेछ ।
।