सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राप्तीसोनारीमा भव्यरुपमा मनाइँदै ‘जनयुद्ध दिवस’

जनयुद्ध दिवसकै अवसरमा ७० जना सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दनसँगै बृहत रक्तदान गरिँदै ।

बाँके । राप्तीसोनारी गाउँपालिकामा फाल्गुन १ गते २६ औं जनयुद्ध दिवस मनाउन भव्य तयारी थालिएको छ । नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटीले जनयुद्ध दिवस भव्यरुपमा मनाउने तयारी थालेको छ ।

गाउँ कमिटिको अध्यक्ष चिमबहादुर घर्तीको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले राप्तीसोनारीमा जनयुद्ध दिवस भब्यरुपमा मनाउने निर्णय गरेको गाउँ कमिटीका उपाध्यक्ष जनकबहादुर थारुले जानकारी दिएका छन् ।

गाउँ कमिटीले जनयुद्धका क्रममा सहिद तथा बेपत्ता भएका परिवारलाई अभिनन्दन गर्ने तथा बृहत रक्तदान गर्ने कार्यक्रम तय गरिएको र उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुने गाउँ कमिटीका उपाध्यक्ष थारुले जानकारी दिए ।

राप्तीसोनारी ६ का वडाध्यक्षसमेत रहेका उपाध्यक्ष थारुका अनुसार राप्तीसोनारी ६ स्थित सहिद स्मृति पार्कमा कार्यक्रम गरिनेछ । उनले राप्तीसोनारी गाउँपालिकाभरीका सहिद तथा बेपत्ता गरि ७० जनाका परिवारलाई अभिनन्दन गर्ने पनि जनाए ।

साथै जनयुद्ध दिवसकै अवसरमा बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको गाउँ कमिटीका सचिव सुर्य घर्तीले जानकारी दिएका छन् । उनका अनुसार रक्तदान कार्यक्रममा १०० बढीको सहभागीता गराउने लक्ष्य रहेको छ ।

सामाजिक कार्यमा अग्रसर हुन सबै कार्यकर्तालाई गाउँ कमिटीले आग्रहसमेत गरेको छ । गणतन्त्र र नयाँ जनवादी सत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १५:४३