सूचनाको शक्ति - The Power Of Information

        

सरकारी कार्यालयमा बेतिथि

मालपोत कार्यालय बाँकेमा बिचौलियामार्फत रकम लेनदेन, सेवाग्राही असन्तुष्ट

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले प्रदान गरिरहेको सेवाप्रति अधिकांश सेवाग्राही असन्तुष्ट रहेको पाइएको छ ।

मालपोत कार्यालयमा पुगेर स्थानीय एक संस्थाले सङ्कलन गरेको सेवाग्राहीसँगको सवाल जवाफमा उनीहरूमध्ये अधिकांशले कार्यालयका सेवाप्रति असन्तुष्टि व्यक्त गरेको पाइएको हो ।

सुशासनका लागि लामो समयदेखि काम गर्दै आएको संस्था वागेश्वरी असल शासन क्लबले मालपोत कार्यालयमा पुगेर ५० जना सेवाग्राहीसँग सोधपुछ गर्दा उनीहरूमध्ये अधिकांश कार्यालयको सेवाप्रति असन्तुष्ट देखिएको संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

उनका अनुसार अधिकांश सेवाग्राही मालपोतको सेवा प्रवाहबारे असन्तुष्ट रहेको, सेवा लिँदा स्पष्ट जानकारी नभएको, अस्पष्ट सूचना पाएको, कार्यालयका कर्मचारीले सेवाग्राहीसँग अपेक्षित व्यवहार नगरेको पाइएको छ ।

सेवाग्राहीमध्ये अधिकांशले कार्यालयबाट अस्पष्ट सूचना प्राप्त भएको, सेवाग्राहीको आवश्यकता र अपेक्षाप्रति ध्यान नदिएको र कतिपय कर्मचारीले अभद्र व्यवहारसमेत गर्ने गरेको जानकारी दिएकोसो सर्वेक्षणले बताएको छ ।

सेवा प्राप्त गर्न आवश्यक सूचना र शुल्क, दस्तुरबारे सेवाग्राहीले मिश्रित प्रतिक्रिया दिएका छन् । केही सेवाग्राहीले कर्मचारीले समस्या समाधान गर्न नसकेको, काममा ढिलासुस्ती गर्ने गरेको पनि बताएका छन् ।

बिचौलियामार्फत रकमसमेत लेनदेन चल्ने गरेको केहीको गुनासो छ । वागेश्वरी असल शासन क्लबका कार्यकारी निर्देशक शाहका अनुसार सेवाग्राहीले शौचालय सरसफाइ नभएको, टोकन प्रणाली सुचारु गर्नुपर्ने, भीडभाड व्यवस्थापन गर्नुपर्ने, कर्मचारीको उपस्थिति नियमित हुनुपर्ने कुरालाई उठाएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०९:३१