सूचनाको शक्ति - The Power Of Information

        

विचार

स्थानीय तहमा महिला सशक्तिकरणको सवाल

महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक बनिरहेका छन् ।

– कल्पना गाहा मगर

अक्सफोर्ड डिक्सनरीले सशक्तिकरणलाई कुनै काम गर्न कसैलाई दिइने अख्तियार वा शक्ति भनेको छ । सशक्तिकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ ।

यसरी हेर्दा महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने हुन आउँछ । त्यसो भए महिला सशक्तिकरण नै किन त ? पुरुष सशक्तिकरण भनेको त खासै सुनिँदैन ।

महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको अवधारणा हो, पुरुषलाई यो संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ । पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन ।

सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् भन्ने विश्वास छ । कहिलेकाहीँ महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ ।

यसले महिलाहरू अशक्त वा कमजोर छन् भन्ने मान्यता बोकेको छ । त्यसकारण महिला सशक्तिकरणलाई पुरुषको अवस्था र हैसियतसँग तुलना गरेर परिभाषित गरिन्छ ।

त्यसकारण पनि महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रका सम्भावना उजागर गर्नेभन्दा महिलालाई पुरुषसरह बनाउनेमा बढी जोड दिएको देखिन्छ । महिला सशक्तिकरणको अवधारणा महिलालाई पुरुष निर्देशित विकासको प्रतिफलको हिस्सा बनाउन सुरू भएको देखिन्छ ।

विकासे परियोजनाले महिलाका आवश्यकता पनि ध्यान दिनुपर्छ भन्ने मान्यतामा सुरू भएको महिला सशक्तिकरणको अवधारणा लैंगिक तथा सामाजिक रुपान्तरणसम्म आइपुग्दा विभिन्न तरिकाले व्याख्या र विश्लेषण भएको छ ।

समग्रमा महिलाका अधिकार र आवश्यकता पुरुषबाट वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन् । यसको प्रतिविम्ब भाषा, मूल्य, मान्यता, संरचना हरेक कुरामा झल्किन्छ । हरेक क्षेत्रमा महिला र पुरुषका लागि मापदण्ड फरक छन् ।

नेपालको संविधानले यौनिक अल्पसंख्यकलाई अन्यको पहिचान दिएको छ । तर सामाजिक संस्था, मूल्य, मान्यता पूर्णरूपमा ‘हेटेरोसेक्सुअल’ छन् । विद्यमान प्रणालीले महिला र यौनिक अल्पसंख्यकलाई दोश्रो र अन्य दर्जाको मानव मान्छ ।

यही प्रणालीमा रहेर आफ्नो सामाजिक तथा राजनैतिक हैसियत बनाउन बाध्य छन् । हाम्रा सामाजिक मूल्य, मान्यता र दृष्टिकोण बाइनरी प्रणालीमा आधारित भएर निर्माण भएका छन् ।

समाज बुझ्न हाम्रो भाषा र ज्ञान अपुरो छ । किशोरावस्थामा आफूमा आएको यौनिक परिवर्तनबाट आफू को हो बुझ्न नसकेर कतिपय युवा डिप्रेसनको शिकार बनिरहेका छन् ।

यसकारण पछिल्लो समय महिला सशक्तिकरण पुनः परिभाषित गरिनुपर्छ भन्ने आवाज बुलन्द उठ्न थालेको छ । महिला सशक्तिकरण पुनः परिभाषित गर्दा पुरुष केन्द्रित दृष्टिकोणबाट बाहिर निस्किन जरुरी छ ।

यसका लागि सामाजिक नियम, लैंगिक मूल्य, मान्यतामा परिवर्तन ल्याउनुपर्छ । महिलाद्वेषी भाषा, कथन, भनाइमा पनि परिवर्तन ल्याउन जरुरी छ । जवाफदेही राज्य व्यवस्था, महिलामैत्री कानुन निर्माण र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।

महिला सशक्तिकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रियस्तरसम्म धेरै प्रयास भएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा पहुँच बढेकाले महिलाको अवस्थामा सुधारिएको छ । यो परिवर्तनले उनीहरूको जीवन तुलनात्मक रुपमा सहज बनाएको छ ।

हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्याँस हुँदै इन्डक्सनमा पकाउन थालेका छन् । तर यसले लैंगिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन सकेको छैन । महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक बनिरहेका छन् ।

त्यसकारण महिला सशक्तिकरण फराकिलो रुपमा हेर्न र पुनःब्याख्या गर्न जरुरी देखिएको हो । महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्नु भनेको परम्परागत अवधारणाको औचित्य थप पुष्टि गर्नु भने होइन ।

विगतका सफल प्रयासलाई निरन्तरता दिन जरुरी छ । तर त्यसको औचित्य परिवर्तित समाजमा कति छ, थप विश्लेषण गर्न उत्तिकै आवश्यक छ । हाम्रो भाषा, ज्ञान, कथन, सम्बन्ध, सामाजिक संस्था, पद, र राज्य व्यवस्थासमेत परम्परागत समाजमा आधारित छन् ।

महिला सशक्तिकरणको अवधारणाको जग पनि यही परम्परागत समाज र राज्य व्यवस्था हो । रोचक के भने, आमा दिवसको अवधारणा परम्परागत समाजको बनावटमा आधारित छ जुन समाजले समलिंगी बिहेको परिकल्पनै गरेको थिएन ।

महिला सजातीय समूह होइन । महिलाभित्रको विविधतामा सिंगो समाज अटाउँछ । महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रको विविधता पूर्णरूपमा आत्मसात गर्न सकेको छैन ।

त्यसैले महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा विगतको समाज होइन वर्तमानको परिवर्तित समाज हेर्न जरुरी छ । विगतमा महिला सशक्तिकरणका लागि भएका प्रयासले महिलाहरूको शिक्षा, रोजगार र उद्यममा पहुँच बढेको छ ।

महिला सशक्तिकरणलाई पुनःपरिभाषित गर्दा पहिलेभन्दा राम्रो बनाउने दृष्टिकोणले हेर्न जरुरी छ । हरेक उपसमूह (जस्तै दलित महिला, ग्रामिण महिला, किशोरी, समलिंगी)भित्र सशक्त महिला को हो भन्ने निर्धारण गर्न सकियो भने महिलालाई पुरुषसँग तुलना गर्ने परम्परा अन्त्य गर्न सकिन्छ ।

महिला सशक्तिकरण भनेको महिलालाई सशक्त बनाउने मात्र होइन, सशक्त महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । यसले पुरुषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्छ ।

विकासे कार्यक्रमले यसलाई पुरुष संलग्नता भन्ने गरेका छन् । महिला सशक्तिकरणका लागि पुरुष संलग्नतामा ध्यान दिनुपर्ने पक्ष के भने यो पुरुषले पितृसत्ताबाट प्राप्त शक्तिको थप प्रमाणीकरण होइन ।

यसले पुरुषलाई लैंगिक समानताप्रति थप जवाफदेही बनाउँछ । पितृसत्ताबाट सबै पुरुष लाभान्वित छन् भन्ने कथन पनि भ्रम हो । पितृसत्ताले पुरुषभित्र पनि तह निर्माण गरेको छ ।

केही समय पहिले बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबाट विक्षिप्त उनका पिताले छोरी जन्माउनु नै मेरो गल्ती थियो त ? भन्दै गरेको विलापले धेरैलाई रुवाएको थियो ।

हिंसात्मक र बलात्कारी पुरुष जन्माउने पितृसत्ताले पितालाई रुवाउने यस्ता घटना धेरै छन् हाम्रो समुदायमा । एउटा पुरुषको व्यवहार अर्को पुरुषका लागि कति पीडादायी र असह्य हुन्छ भन्ने उदाहरण हो यो घटना ।

त्यसैले महिला सशक्तिकरण र समाज रुपान्तरणका लागि पुरुषमा पनि परिवर्तन ल्याउन जरुरी छ । लैंगिक भूमिका र शक्ति सम्बन्धमा परिवर्तन ल्याउन पुरुषहरू परिवर्तन हुनै पर्छ । यसले सामाजिक रुपान्तरणको यात्रा सहज बनाउँछ ।

तर आचरण, व्यवहार, आनीबानीमा परिवर्तन नल्याउने हो भने पुरुषलाई परिवर्तित समाजमा समायोजन हुन कठिन छ । यसका लागि स्थानीय तहहरुले महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानहरुमा पुरुष सहभागितालाई पनि त्यत्तिकै ख्याल गर्नुपर्छ ।

महिला सहभागितालाई लैंगिक समानता र दिगो तथा न्यायिक विकासको सूचकका रूपमा हेर्दै महिलाको नीति निर्माण र निर्णय प्रक्रियामा हुने अर्थपूर्ण सहभागिताको सूचक वृद्धिले समतामूलक विकासमा योगदान दिन सकिन्छ भन्ने उद्देश्यका साथ माथिका यी समग्र विषयलाई ध्यानमा राखेर जानकी गाउँपालिकाले महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ ।

 

(लेखिका बाँकेको जानकी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक विकास शाखा प्रमूख एवं सहायक महिला विकास निरिक्षक हुन् ।)

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १०:३१

सिफारिस