सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य समृद्धि

राप्तीसोनारी ७ मा स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य अभियान

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का नागरिकको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्यसँग सम्बन्धीत विभिन्न अभियानले सहयोग गरेका छन् । बिभिन्न समयमा हुने अभियान तथा कार्यक्रमहरु र त्यसबाहेकका निरन्तर तर विस्तारै भएका कार्यले यो वडालाई नमूना बनाउनतर्फ सहयोग गरिरहेका छन् ।

सबैभन्दा पहिले वडालाई खुल्ला दिसामुक्त बनाउनका लागि थालिएको खुल्ला दिसामुक्त अभियान नै ठुलो सहयोग पु¥याएको छ । यो अभियान लामो समयपश्चात सफल भयो र यसले प्रत्यक्षरुपमा यहाँका नागरिकको स्वास्थ्य सुधारमा प्रमुख भूमिका निर्वाह गरेको मान्नुपर्छ ।

यसले यहाँका जनताको जीवनस्तर परिवर्तन गर्यो । यस वडामा समस्याका रुपमा देखिएको झाडापखालाबाट जनतालाई बचाउने काम गर्यो । यहाँका मानिसहरुमा झाडापखालाको समस्या देखिरहन्थ्यो, त्यो समस्यामा कमि आयो । स्थानीयस्तरमै भएका शैक्षिक संस्थाहरुको निरन्तरको प्रयासले यहाँका नागरिकको चेतनास्तरमा वृद्धि भएको महशुस गरेको छु ।

पछिल्लो केही वर्षयता यहाँका नागरिकमा चेतनास्तरमा बृद्धि हुने आधार भनेको कुनै प्रकारको समस्या हुनेबित्तिकै स्वास्थ्य संस्थामा सोधपुछका लागि हुने उपस्थितिलाई मानेको छु । सामान्यभन्दा पनि सामान्य स्वास्थ्यमा समस्या देखिनेबित्तिकै यहाँका जनता स्वास्थ्य केन्द्रमा आउने गरेका छन् ।

यस्तै अर्को कुरा भनेको घरमा शुन्य सुत्केरी संख्या पनि चेतनास्तरमा वृद्धि भएको संकेत हो । कोही पनि घरमा सुत्केरी नभएर स्वास्थ्य केन्द्रमै आएर सुत्केरी हुने कार्य पनि यस वडाका लागि सकारात्मक कुरा हो । घरमा सुत्केरी हुनुहुँदैन भन्ने स्वास्थ्य हेरचाहमा सकारात्मक विकास भएको पाएको छु ।

बाढी र डुबानका कारण मानिसहरुमा सामान्य खालको आइरहेको स्वास्थ्य समस्या पनि कम भएको छ । यस्तै स्वास्थ्य चौकी नै टिबी रोग पहिचानका लागि सक्रिय भएको छ । स्वास्थ्यकर्मीले बिरामीको खकार लिएर सम्बन्धित ठाउँमा पठाइदिने गरिएको छ । यस वडा अन्तरगत परिचालित महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता पनि उत्कृष्ट छ ।

मनोज मिश्रा, प्रमुख
फत्तेपुर स्वास्थ्य चौकी, राप्तीसोनारी गाउँपालिका–७, बाँके ।

आवश्यक समय र अवस्थाबाहेक पनि स्वास्थ्य स्वयंसेविकाले यहाँका नागरिकलाई सहयोग गरिरहेका छन् । यहाँ ११ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । यहाँ सञ्चालित खोप सेवा, आमा सुरक्षा कार्यक्रम, खुल्ला दिसामुक्त घोषणा, स्वास्थ्य स्वयंसेविकाको सक्रियता, यहाँका कार्यरत स्वास्थ्यकर्मीको नियमितताका अन्य कर्मचारीको लगनशीलताले स्वास्थ्यलाई प्रवद्र्धन गरेको छ ।

साथै स्वास्थ्य चौकीमार्फत हामीले गर्ने स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमले पनि नागरिकको चेतनास्तरलाई वृद्धि गर्न सहयोग पुर्याएका छन् । स्वास्थ्य क्षेत्रलाई अझै उत्कृष्ठ बनाउन यस्ता कार्य गर्न जरुरी छ । वर्तमान अवस्थामा भइरहेका कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन सहयोग पु¥याएको भए पनि अझै उत्कृष्ठ बनाउनका लागि केही कार्यहरु गर्न जरुरी छ ।

र यी कार्यहरु निरन्तर गर्न आवश्यक पनि छ । पहिलो कुरा त जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनुपर्छ । विद्यालयदेखि समुदायमा समयसमयमा अभिुमखिकरणजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस्तै आमाहरुको स्वास्थ्य लगायत कुराका लागि ल्याइएको कार्यक्रमजस्तै बुवा समूहरु गठन गर्नुपर्छ, यसले पनि परिवारको स्वास्थ्य सुधारमा ठुलो भूमिका खेल्छ ।

स्वास्थ्य चौकीकै कुरा गर्ने हो भने भएको शौचालयलाई अपाङ्गमैत्री बनाउनुपर्छ । भएका फर्निचरले जनतालाई स्वास्थ्य सेवा पु¥याउन कम भएकाले फर्निचरको व्यवस्थापन गर्नुपर्छ । साविक भएका भवनहरु सेवा विस्तार गर्न कम भएकाले भवनहरु थप्नुपर्ने आवश्यकता पनि देखिन्छ । किशोरकिशोरी कार्यक्रमहरु सञ्चालन गर्न हाल रहेको समस्या पनि समाधान गर्न नयाँ मापदण्ड अनुसारका भवन आवश्यक छन् ।

सधैभरि भइरहने औषधीको अभावलाई कम गर्नुपर्छ । खोप सेवा वितरणलाई टोलटोलमा पु¥याउनुपर्छ । स्वास्थ्य चौकी नमूना मानिएको भए पनि कार्यालय वा भवनको सरसफाई तथा रेखदेखका लागि आवश्यक कर्मचारीको अभाव भएका कारण थप कर्मचारीको व्यवस्थापन गर्नुपर्छ । यी र यस्ता यावत् कुराहरु गर्न सकिएमात्रै यस क्षेत्रको स्वास्थ्य अवस्थालाई अझै उत्कृष्ठ र प्रभावकारी बनाउन सकिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०९:४७