सूचनाको शक्ति - The Power Of Information

        

पराजयको चोट पार्टी परित्यागसम्म

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अन्ततः पार्टी परित्याग गरेका छन् ।

मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै त्यसको दोष पूर्वराजा र निर्मल निवासलाई दिँदै आएका थापाले आफूले सारेका माग सुनुवाइ नभएको भन्दै मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु, पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

उनले विज्ञप्तिमार्फत अघि भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु, पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

लामो समय राप्रपाको नेतृत्वमा रहँदै आएका र मंसिर तेस्रो साता सम्पन्न एकता महाधिवेशनमा आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १ सय ९९ मत अन्तरले पराजित भएका थापाको पार्टीबाट बहिर्गमन कुनै आकस्मिक निर्णय होइन ।

अध्यक्षमा पराजित भएको दिन उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुन धारणा राखेका थिए, त्यसले उनी कुनै पनि दिन राप्रपाबाट अलग हुन्छन् भन्ने संकेत दिन्थ्यो ।

राजधानी

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०७:५३