सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ–मुग्लिन सडक निर्माण लागत ४३ करोड बढ्ने

चितवन नारायणगढ–मुग्लिन सडक निर्माण लागत ४३ करोड बढ्ने भएको छ ।२०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी दुई अर्ब ८९ करोडमा तीन कम्पनीलाई ठेक्का दिइएको थियो । इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीव रु ६० करोड ६१ लाख रहेकामा बढेर करीव रु ६८ करोड ९७ लाख पुगेको छ ।

त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउँदाको रकम करीव ९७ करोड ६७ लाख रहेकामा बढेर एक अर्ब १० करोड पुगेको छ । तेस्रो खण्डको एक अर्ब ३० करोडमा ठेक्का लगाइएकामा बढेर करीव एक अर्ब ४१ करोड पुगेको छ ।

सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ । वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडक माथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव रु २६ करोड १३ लाख लागत अनुमान गरिएको छ । वर्षाको बाढीअघि नै कतिपय गर्नुपर्ने महत्वपूर्ण काम भएकाले ती काम आउँदो सातादेखि गर्ने तयारी गरिएको हो ।
परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट भए काम सकेपछि नै गर्ने बताए । यसबाट लागत मूल्य करीव रु ४३ करोड ३१ लाख बढ्छ । निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ ।
रासस

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार ०२:१४