सूचनाको शक्ति - The Power Of Information

        

अनुभूति

प्रसङ्ग : हिउँकाण्ड

  • उषा सिंह मल्ल

हुन त प्रकृतिको सुन्दरतामा अर्थात् प्रकृतिको अनुपम दृश्य देखेर म मात्रै होइन त्यहाँ जानुभएका सम्पूर्ण प्रकृति प्रेमिहरु नै लठ्ठै हुनुहुन्थ्यो । जान त म बच्चाको करले गए तर त्यहा पुगेपछि छुट्टै किसिमको मनमा हर्ष अनि खुसी पलाएको थियो ।

म आफैले यो खुसीमा करले होइन रहरले सामेल गराउनुपर्ने रहेछ भन्ने कुरा मनमा जाग्यो । किनकि त्यहाँको मनोरम दृष्य नै निकै लोभलाग्दो अनि चियाइरहने थियो । छोरो निकै आफ्नै तालमा हिउसँग गुटुमुटी हुँदै खेलिरहेको थियो र निकै खुसी देखिन्थ्यो ।

हामी अभिभावकले सन्तानको खुसीबाहेक अरु के रोज्न सक्छौं र । भन्न त मैले पनि भन्थे हिउँ हिउँ भन्छन् जो पनि यस्तो चिसो मौसममा किन जाँदा हुन् । त्यहा भनेर, तर यथार्थ कुरा यस्तो रहेनछ ।

हुन त मौसम नै चिसोको हो यहाँ जानेहरु रहर र बाध्यताभन्दा पनि खुसी मनाउन अर्थात् प्रकृतिसँग एकैछिन भए पनि दुःख साट्न पुगेका रहेछन् । त्यो रमणीय वातावरणले सबैलाई नतमष्तक बनाउँदोरहेछ, फेरि यो पल घरिघरि पनि नआउने ।

त्यसैले सबै समय मिलाएर त्यति कठिन परिस्थितिलाई सामना गरेर भए पनि रमाउन पुग्दा रहेछन्, मेरो बिचारमा । बाटो निकै कष्टकर नै थियो । करिब ९÷१० घण्टाको जाममा पाएको दुःखलाई पनि जब त्यो हिउसँग रमाएको पल याद हुन्थ्यो तब त्यो दुःख क्षणभरमै बिलिन हुन पुग्थ्यो ।

यति घुइँचो थियो कि मानिसहरुको भन्दा धेरै सवारी साधनहरुको जसले गर्दा आवतजावतमा अलिकति कठिनाई भएको थियो । तर पनि यो नयनले पुरै गुराँसेदेखि छेडासम्म हिँडेर आउँदासम्म पनि कहिकतै झडप अनि मनमुटावको दृष्य देखिन ।

सबैले मानवीय धर्मसहित हाँसो खुसी साट्दै अनुशासनको पालना गर्दै आ–आफ्नो गन्तब्यलाई मध्यनजर गर्नुभएको थियो । हुन त गराई, भनाई, भोगाई, हेराई र देखाई हरेक कुरामा निकै अन्तर छ । तर प्रकृतिले दिएको जुन मनोरञ्जनात्मक ज्ञान छ ।

त्यो निकै अपार छ, जो कहिल्यै हृदयबाट मेटिएर जाने छैन, सधैं सम्झन लायक हुनेछन् । खुसी एउटा यस्तो पात्र हो, जो सधैं हाम्रो साथमा रहँदैन, तर यसलाई पछ्याएरै भए पनि हामीहरु हरपल अनुशरण गर्छौ । हरेक दिन, हरेक रात, हरेक हप्ता, हरेक महिना र हरेक वर्ष आखिर हामीले आत्मदेखि चाहने भनेकै खुसीको महिमा हो ।

बाँकी दुःख कष्ट रोदन आँधी र हुरी त चलिनै रहेको हुन्छ जिन्दगीमा । तर हरेकको हृदयमा सकारात्मक मनहरुको बास हुने हो भने पक्कै पनि जिन्दगी स्वर्गतुल्य हुनेछ । पाएको जुनी निकै मुल्यवान् हुनेछ ।

तेरो र मेरो भनि हानाथाप गर्ने हातहरु अनि मनहरुले त्यो प्रकृतिको आनन्दित प्रेमले लठ्ठै बनाएर जुन हृदयमा छाएको ज्ञान थियो, त्यहि ज्ञान त्यो काखबाट छुटेर यो सहरमा पनि पैदा भएको भए साच्चिँकै हाम्रो सहर त्यो प्रकृतिको काखभन्दा पनि अमूल्य हुने थियो होला ।

त्यहाँ बाडिएका खुसीहरु यहाँ पनि बाडिएको भए, सायदै दुःखी आत्महरु कहिँ खड्किएर बसेको जिन्दगीदेखि हार मानिरहेको अवस्था देखिने थिएन होला । तर के गर्नु यो संसारिक लिला नै अचमम्को छ । हरेक कुराको मूल्य नै अति क्षणिक छ, लोभलालचले नै संसारको रुप अपादर्शी छ, स्वार्थमै तल्लिन छन्…।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:४०

सिफारिस