सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेमा बर्डफ्लुको उच्च जोखिम

फाइल तस्वीर

बाँके । नेपाल–भारत सिमाना नजिक रहेका भारत उत्तर प्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा छ ।

भारतबाट लुकिछिपी हुँदै आएको पन्छीजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्यधिक बढेको जनाउँदै स्थानीय अगुवाले जिल्लाको सम्पूर्ण नाकामा कडाइ गर्न माग गरेका छन् ।

नाकाहरूमा कडाइ नगरिए बर्डफ्लु भित्रिने जोखिम बढेको छ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएको र नेपालकै पूर्वी जिल्ला मोरङमा समेत बर्डफ्लु देखिएकाले बाँकेमा नपुग्ला भन्न नसकिने जनाउँदै सोबारेमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

बाँकेका किसान र व्यवसायीले पनि सिमानामा यस्तै छुट रहने हो भने बर्डफ्लु भित्रिन सक्ने र त्यसबाट एकातिर मानवजीवन सङ्कटमा पर्ने र अर्कोतिर व्यवसाय सखाप हुने चिन्ता व्यक्त गरेका छन् ।

फार्म रजा ग्रुपका सञ्चालक मुख्तार राईले बर्डफ्लु भित्रिन नदिन पनि भारतबाट आउने कुखुरालाई रोक्न अपरिहार्य भइसकेको बताए । प्रहरी प्रशासनले भने नाकामा कडाइ गरिएको जनाउँदै दिनरात खटिएर सुरक्षाकर्मीले कुखुरालगायत सबै अवैध आयातलाई रोक्ने काम गरिरहेको दाबी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मुख्य नाकामा रहेका सुरक्षाकर्मी र क्वारेन्टाइनलाई कुखुरा र गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको बताए । उनले बर्डफ्लु भित्रिने आशङ्का अहिले बढेकोले झन् कडाइ गर्न नाकामा तैनाथ सबै सुरक्षाकर्मीलाई निर्देशन दिइएको जनाए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतवार ०८:४५