सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेका ५३ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप

बाँके । बाँके जिल्लामा बुधवार र बिहीबार दुई दिन चलाइएको खोप अभियान अन्तर्गत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ५३ हजार १८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । वर्षाका कारण लक्ष्यभन्दा कमले खोप लगाएपछि दुई दिन खोप अभियान थप गरिएको पनि स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा दुई दिनमा जिल्लाका ८ वटा पालिकामा ५३ हजार १८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।

पहिलो दिन ३१ हजार ६१७ जनाले खोप लगाएकोमा दोस्रो दिन २१ हजार ५७१ जनाले खोप लगाएको उनले बताए । दोस्रो दिन जिल्लाका अधिकांश भागमा दिनभरि वर्षा भएकोले खोप अभियान प्रभावित हुँदा कम सङ्ख्यामा खोप लगाउन बालबालिका आएको पनि खोप फोकल पर्सन श्रेष्ठले बताए ।

सोही कारणले दुई दिन खोप अभियान थप गरिएको जनाउँदै उनले शुक्रवार पनि हल्का वर्षा भैरहेकोले अभियान प्रभावित हुनसक्ने बताए । बाँकेमा ७६ प्रतिशत बालबालिकाले खोप लगाएको र २४ प्रतिशतलाई लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएका छन् ।

कोहलपुरका १२१ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । त्यहाँ १० हजार ३२९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर कोहलपुरमा १२ हजार ५२१ बालबालिकाले खोप लगाएका छन् भने खजुरा र राप्तीसोनारीका समान ८४ प्रतिशतले खोप लगाएका छन् ।

बैजनाथ र नेपालगन्ज उपमहानगरपालिकाका ७४–७४ प्रतिशत तथा डुडुवा गाउँपालिका ४७ र जानकीका ४५ प्रतिशतले खोप सुविधा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मोडर्ना खोप लगाउनेमा नरैनापुर गाउँपालिका सबैभन्दा पछि छ ।

त्यहाँका ३४ प्रतिशत बालबालिकाले मात्र खोप लगाएको कोरोना खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए । जिल्लाभरिमा विभिन्न विद्यालयमा ४३३ वटा खोप केन्द्र कायम गरेर खोप अभियान सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०९:१०