सूचनाको शक्ति - The Power Of Information

        

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा एक घण्टा छलफल भएको हो ।

बुधबार बिहान सत्ता गठबन्धनमा रहेका तीन शीर्ष नेताबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । तीन नेताबीच स्थानीय तहको निर्वाचन, एमसीसीको विषयमा छलफल भएको हो ।

बुधबार नै गृहमन्त्री बालकृष्ण खाणले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेका थिए । यस्तै मंगलबार प्रधानमन्त्री देउवाले दूतका रुपमा नेताहरु पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पठाएर छलफल गराएका थिए ।

मंगलबार खड्का र कार्कीसँगको संवादपछि प्रचण्डले देउवासँग संवादका लागि बालुवाटार जाने निर्णय लिएका थिए । बालुवाटारमा दुई नेताबीच मुख्यतया एमसीसी र जेठ ४ मा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाले सदनको यसै सत्रमा एमसीसी पास गर्ने अडान लिएर प्रक्रिया अघि बढाउन चाहेका छन् । अर्कातिर प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संशोधन नगरी एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

अर्कातिर देउवाले गठबन्धनमा भएको सहमतिविपरीत संविधानसँग बाझिएको स्थानीय निर्वाचन कानुन संशोधन नगरी आगामी जेठ ४ चुनाव गर्ने तयारी गरेपछि सत्ता साझेदारबीच खटपट बढेको छ ।

यस्तोमा दुई नेताबीच बालुवाटारमा संवाद भएको हो । प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनपछि आफूलाई आक्रमक रुपमा अघि बढाएपछि सत्ता गठबन्धनमा रहेका दलहरु सशंकित भएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १४:०२