सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा समृद्धि

तरकारी र धानखेतीको पकेट क्षेत्रको सम्भावना बोकेको ‘जानकी’

बाँके । बाँकेको जानकी गाउँपालिकाले बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ । पालिकामा रहेको कृषि शाखाका अनुसार यस पालिकालाई बसन्ते मकै, धान र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावनाहरु छन् ।

यहाँको हावा, पानी, उर्वर माटोका कारण पालिकालाई नै यही कुरामा अझ बढि चिनाउन सकिने कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार कृषि प्राविधिक शर्माका अनुसार पालिकामा अन्य कुराहरुसँगै कृषिमा पनि राम्रो गर्न सकिने सम्भावना राम्रो छ ।

धनञ्जय शर्मा, प्राविधिक सहायक, कृषि शाखा, जानकी गाउँपालिका, बाँके

प्राविधिक सहायक शर्माले यहाँ अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वर शक्ति बढी रहेकाले यहाँ कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गर्न सकिनेमा राम्रो अवसर पनि आउने सक्ने अवस्था छ । हाल पालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा लिइएको छ ।

यी वडामा विषेशगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका छन् । पालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाले प्रक्षेपणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ ।

प्राविधिक सहायक शर्माले भने, ‘यो क्षेत्रमा तरकारी खेती हुँदै आएको छ । उत्पादन राम्रो हुँदै आएकोले तरकारी खेतीमै किसानहरुको मुख्य जोड रहेको छ ।’ यस्तै पालिकालाई युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि थुप्रै कार्यक्रमहरु सञ्चालनमा जोड दिएको प्राविधिक सहायक शर्माले बताएका छन् ।

कृषि क्षेत्रलाई राम्रो बनाउन सकेमा मानिसले स्वस्थ खानेकुरा खाना पाउने र स्वस्थ रहन सहयोग पुर्याउनुका साथै आवश्यक तरकारीको खपत सजिलै पुरा गर्न सकिन्छ । धेरै युवाहरु स्वदेशमा केही गर्न चाहँदैनन् । तर बाहिर गएर जे पनि गरिरहेका छन् । तर स्वदेशमै कृषि कर्मलाई व्यवसायीक रुपमा सञ्चालन गर्न सकिए थुप्रै सम्भावना यही छन् ।

पालिकाले युवाहरु किसानहरुमा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क र अनुदानमा बिभिन्न अन्नवाली तथा तरकारीको बिउ वितरण गर्ने गरेको छ । प्राविधिक शर्माले पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिट बिउ वितरण गरिरहेको छ भने मिनी किट बिउ निःशुल्क रुपमा वितरण गरिरहेको बताए ।

शाखाका अनुसार यसै बर्ष १८०० किसानलाई उक्त मिनी किट वितरण गर्ने लक्ष्य छ । ५० प्रतिशत अनुदानमा ४०० जनालाई तरकारीको बिउ वितरण, ५० प्रतिशत अनुदानमै पालिकाका किसानलाई च्याउको बिउ वितरण गरिरहेको छ । पालिकामा च्याउ उत्पादन गर्न चाहने १५०० किसानलाई बिउ वितरण गरिने प्राविधिक शर्माले बताए ।

यस्तै पालिकाले किसानहरुले खेती गर्दा देखिने समस्यालाई स्थलगत समाधान गर्ने गरेको छ । खेती गर्ने क्रममा थुपैै्र समस्याहरु आउने गरेको र ती समस्यालाई स्थलगतरुपमै अनुगमनपपछि निराकरणको उपाय अपनाउने गरिएको कृषि शाखाका प्राविधिक सहायक शर्माको भनाई रहेको छ ।

कृषकहरुलाई खेती किसानी गर्न सजिलो बनाउनका लागि पालिकास्थित कृषि शाखाले समय समयमा सचेतनामूलक तालिमहरु सञ्चालन गर्ने गरिएको पनि प्राविधिक सहायक शर्माको भनाई छ । उनका अनुसार यस्ता तालिमहरु वडास्तर तथा पालिकास्तरमा आयोजना गरेर जानकारी दिने गरिएको छ ।

किसानको समस्या समाधानका लागि वा सिजनका समयमा खेती गर्ने क्रममा देखिने समस्याहरुका बारेमा घुम्ती शिविरसमेत पालिकाले सञ्चालन गरिरहेको जनाएको छ । खेती किसानीका लागि यस पालिकाको पकेट क्षेत्रमा पानीको उचित व्यवस्थापन भएकाले नै पकेट क्षेत्रका रुपमा विकास गर्न सकिएको हो ।

तर खेतीमा सिंचाई गर्ने सुविधा नभएका स्थान, वडाहरु टोलहरुमा पालिकाले सिंचाईको व्यवस्थापन कार्यको योजनासमेत बनाएको छ । पालिकाले सबै किसानको खेतसम्म सिंचाई पुर्‍याउने उद्देश्यले अध्यक्ष सिंचाई कार्यक्रमसमेत सञ्चालन गरेको छ । यो कार्यक्रममा पालिकाभित्रका सबै किसानहरुको खेतसम्म सहज र सुलभ तरिकाले सिंचाईका लागि पानी पुर्याइनेछ ।

कृषि शाखाका अनुसार पालिकाले चालु आर्थिक वर्षका लागि करिब ५० लाख बजेट विनियोजन गरेको छ । यस अन्तर्गत पालिकाका २५७ जनालाई समेटिने योजना छ । पालिकामा हुँदै आएको खेतीलाई समयमै हुने सिंचाईले थप सहयोग पुर्‍याउने र उत्पादनमा समेत वृद्धि हुने पालिकाको आशा छ । साथै यो कार्यक्रमले पालिकालाई तरकारी तथा खेतीको पकेट क्षेत्रको विकास गर्न सहजसमेत बनाउनेछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १२:०९