सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपामा मनोनितको ताँती, सहायकसहित सात जना प्रवक्ता !

काठमाडौं । प्रतिनिधिसभा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवक्ता मात्र सात जनालाई बनाएको छ । प्रवक्ता र सहायक प्रवक्ता गरी सात जनालाई मनोनयन गरिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार नै प्रवक्ता र सहायक प्रवक्ता मनोनयन गरेका हुन् । जसअनुसार झापका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल प्रवक्ता बनेका छन् ।

यस्तै सहायक प्रवक्तामा दोलखाका प्रवीनकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्ण बहादुर चन्द रहेका छन् । अन्य पार्टीमा प्रवक्तामात्रै हुने भए पनि राप्रपाले भने चार जनालाई प्रवक्ता र तीन जनालाई सहायक प्रवक्ता बनाएका हो ।

गत मंसिरमा राप्रपाको महाधिवेशनबाट लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए । उनले केन्द्रीय सदस्य र अन्य पदाधिकारी मनोनयन गरिसकेका छन् । यस्तै राप्रपामा दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् ।

लिङदेनले पार्टीको विधानअनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरू पनि तोकेका छन् । उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन् ।

यस्तै महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई नियुक्त गरिएको छ । यस्तै सहमहामन्त्रीमा सात जना, सहायक मन्त्रीमा ६ जना मनोनित गरिएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०९:०८