सूचनाको शक्ति - The Power Of Information

        

‘पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र यात्रा’

बिएफआरको नमुना चित्र स्पेस एक्स

२०२४ सम्म मंगलग्रहमा मानिस पठाउने एलन मस्कको सपना


बिएफआरको नमुना चित्र । स्पेस एक्स

अन्तरीक्ष यान निर्माता स्पेस एक्सका प्रमुख एलन मस्क प्रविधिको क्षेत्रमा भविष्यद्रष्टा मानिन्छन् । उनी वैज्ञानिक आविष्कारको दुनियाँमा नयाँनयाँ अवधारणा सार्वजनिक गरिरहन्छन् । उनको यस्ता योजना व्यापारिक उद्देश्यसँग पनि जोडिएको हुन्छ । भर्खरै आर्टिफिसियल इन्टेलिजेन्सका कारण प्रलय निम्तिने भविष्यवाणी गरेका मस्कले पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र पुग्न सकिने र सन् २०२४ सम्म मंगल ग्रहमा मानिस पुग्ने बताएका छन् । अष्ट्रेलियाको एडिलेडमा जारी इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आइएसी) मा बोल्दै मस्कले यस्तो बताएका हुन् । स्पेस एक्सले युट्युबमा सार्वजनिक गरेको भिडियोमा लण्डनदेखि न्युयोर्कसम्मको यात्रा २९ मिनेटमा हुने बताइएको छ ।
उनले कंग्रेसमा दर्शकहरुमाझ मंगलग्रह पठाउने यानको निर्माण अर्को वर्षदेखि सुरु गर्ने पनि बताए । मस्कले स्पेस एक्सले बिएफआर नामक यानको निर्माणमा ध्यान दिने बताए। स्पेस एक्सले बिएफआर अर्थात् ‘बिग फाल्कन रकेट’ निर्माण गर्ने योजना बनाइरहेको उनले बताए । कम्पनीभित्र यसलाई ‘बिग फकिङ रकेट’ पनि भन्ने गरिएको खुलासा उनले गरे । बिएफआरले स्पेसएक्सले अहिले गरिरहेका सम्पूर्ण काम गर्ने र अर्को ग्रहसम्मको यात्रा पनि तय गर्ने उनको दाबी छ । मस्कले पहिलो पटक अघिल्लो वर्षको आइएसीमा मंगलग्रहमा यान पठाउने महत्वकांक्षी योजना सार्वजनिक गरेका थिए । यसपटक उनले यसबारे केही हदसम्म विस्तृत विवरण सार्वजनिक गरेका छन् ।

उनले भनेको बिएफआर मात्र १०६ मिटर उचाइ तथा ९ मिटर चौडाइको यान हुनेछ । उनले सम्पूर्ण कम्पनीको शक्ति यही एक प्रणालीमा लगाउने बताएका छन् । बिएफआरले अहिलेका अन्तरीक्ष यानभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्न सक्नेछ । यसको अर्थ बिएफआरले स्याटेलाइट प्रक्षेपण गर्ने, स्पेस स्टेसनको मर्मत गर्ने कामबाहेक चन्द्रमा र मंगल ग्रहमा समेत मानिसलाई पठाउने छ । त्यस्तै पृथ्वीभित्रै पनि निश्चत ठाउँबाट अर्को निश्चित ठाउँसम्म मानिसलाई पनि र्पुयाउने उनले बताएका छन् । पृथ्वीभित्र यस्तो यानले २७ हजार किलोमिटर प्रतिघण्टाको दरले यात्रा गर्नेछ । यद्यपि मंगल अभियानको जस्तो विस्तृत विवरण पृथ्वीभित्रको यात्राबारे उनले दिएनन् । स्पेस एक्सका सिइओ, चिफ डिजाइनर हुनुका साथै उनी टेस्ला इलेक्ट्रिक कारका संस्थापक तथा नवीकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेको सोलारसिटी अध्यक्ष पनि हुन् ।
उनको नेतृत्वमा स्पेस एक्सका १६ ओटा अन्तरीक्ष यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरिसकेका छन् । त्यसमध्ये दुई ओटा त दोस्रो पटक फेरि प्रक्षेपण गरिएका छन् । उनी अन्तरीक्ष यानको पुनःप्रयोगमा जोड दिने गर्छन् । यस्ता यान एक पटक मात्र प्रयोग गर्न सकिने हुनाले अन्तरीक्ष गतिविधि यति महंगो भएको उनको भनाइ छ । कुनै समय अन्य हवाइजहाजजस्तै यसलाई पनि पुनःप्रयोग गर्न सकिने उनको दाबी छ । स्पेस एक्सको फाल्कन ९ यानलाई आंशिक रुपमा पुनःप्रयोग गर्न सकिन्छ । तर उनको योजनामा रहेको बिएफआर भने पूर्णतयाः पुनःप्रयोग गर्न सकिने हुनेछ । आफ्ना महत्वकांक्षी योजनाहरु तोकिएको समयभित्रै पूरा नहुने पनि मस्क स्वीकार्छन् । उनले बिएफआरको मानवविहीन पहिलो संस्करण २०२२ सम्ममा मंगलग्रह पुग्ने बताए ।

टेस्ला तथा स्पेस एक्स सिइओ एलन मस्क

उनको महत्वकांक्षी योजना सुनेर आइएसीका ४ हजार दर्शकले ताली पिटे । तर ग्राहकहरुले आफूलाई सजिलै विश्वास नगर्ने कुराप्रति मस्क सचेत छन् । उनले आफ्ना ग्राहक परम्परावादी भएको र बिएफआरको अवधारणालाई पत्याउनुअघि ‘सेकेण्ड ह्याण्ड’ फाल्कन अन्तरीक्ष यानलाई बारम्बार पुनःप्रयोग गरेर देखाउनुपर्ने बताए । ‘स्पेस एक्सका एलन मस्क यस्तै छन्, उनी यस्तै गर्छन्,’ मेलबर्नस्थित स्विनबर्न विश्वविद्यालयका प्राध्यापक आलन डफीको भनाइ बिबिसीले उधृत गरेको छ, ‘उनीहरुसँग ठूलो भिजन छ र उनीहरु त्यसतर्फ काम गर्छन् । तर उनीहरु जहिल्यै दिमागमा नाफा राखेर मात्रै कदम चाल्छन् । यदि त्यहाँ उनीहरुले नाफा देखे भने ग्यारेन्टी दिन सकिन्छ, त्यो व्यवसाय सफल भयो ।’ एजेन्सी

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ०६:५४