सूचनाको शक्ति - The Power Of Information

        

अर्थ समृद्धि

बाँकेमा सहकारीको सात अर्बभन्दा बढीको कारोबार, ३२ सयलाई रोजगारी

बाँके । बाँकेमा सञ्चालनमा रहेका सहकारी संस्थाहरूले वार्षिक सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको जिल्ला सहकारी सङ्घ बाँकेले जानकारी दिएको छ । बाँकेमा रहेका ४०९ वटा सहकारीले वार्षिक सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।

ती सहकारीले प्रत्यक्ष रूपमा तीन हजार २०० जनालाई रोजगारी पनि उनले जानकारी दिए । उनले सहकारी संस्थाहरूकै लगानीमा जिल्लामा मात्रै करिब ६० हजार बढी स्वरोजगार बनेको अनुमान गरिएको बताए । उनका अनुसार जिल्लामा सहकारीहरूमा साढे तीन लाखभन्दा बढी सदस्य रहेका छन् । सदस्य थपिने क्रम पनि बढेको छ ।

स–सानो पुँजी जम्मा गरेर आफ्नै सदस्यहरूलाई लगानी गर्ने सहकारीहरूले पछिल्ला वर्षदेखि कारोबार ह्वात्तै बढाउँदै लगेको सङ्घले जनाएको छ । अध्यक्ष सुवेदीका अनुसार सहकारीले सहज लगानी गर्दा सानो मात्रामा ऋण लिएर कारोबार गर्नेका लागि निकै सहज भएको छ भने घरदैलोमै पुगेर बचत सङ्कलन गर्दा बचत गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

बचत गर्ने र त्यहीबाट ऋण लिन पाइने, थोरै पुँजीका लागि बैङ्कभन्दा निकै सहज भएकाले सहकारीतर्फ आकर्षक बढेको अध्यक्ष सुवेदीले बताए । उनले गाउँगाउँसम्म सहकारीको पहुँच पुगेकाले ग्रामीण क्षेत्रका महिलामा विशेष गरेर बचत गर्ने तथा ऋण लिएर घरमै सानोसानो व्यवसाय गर्ने क्रम बढेको बताए ।

बाँकेमा १४ वटा सहकारीले सञ्चालन गरेका डेरीका माध्यमबाट दैनिक आठ हजार लिटर दूध सङ्कलन तथा बिक्री हुने गरेको पनि सहकारी सङ्घले जनाएको छ । सङ्घकै अनुसार ९० वटा सहकारीले जिल्लामा किसानका हातसम्म मल पुर्याउने गरेका छन् भने वार्षिक छ हजार मेट्रिक टन धान र गहुँको बीउ उत्पादन पनि सहकारीबाट हुने गरेको छ ।

बाँकेमा सहकारीले मिट मार्ट, राइस मिल, कोप सप, पापड उद्योग, राम्रो बुटिक, सहकारी हाटबजार सञ्चालन गरेका छन् भने ४१ वटा सहकारी आफ्नै भवनबाट सञ्चालित रहेको जिल्ला सहकारी सङ्घ बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ०९:१९