बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का तीन स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । गाउँ समाजमा हुने चोरी, डकैती, तस्करी र अपराधजन्य गतिविधि रोक्न कुण्डा चोक नजिकैका तीन सीसी क्यामेरा जडान गरिएको हो ।
नरैनापुर, बैजापुर, नेपालगन्ज जाने मुख्य कुण्डा चोक नजिकैका तीन स्थानमा सीसी क्यामेरा जडान गरिएको वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनका अनुसार वडाको संवेदनशील स्थान पहिचान गरेर सीसी क्यामेरा जडान गरिएको हो ।
पहिलो चरणमा जडान सीसी क्यामेराको प्रभावकारिता हेरेर अन्य स्थानमा पनि सीसी क्यामेरा जडान गर्ने योजना रहेको पनि वडाध्यक्ष थारुले बताए । उनले भने, ‘हरेक अनुसन्धान र गलत गतिविधि रोक्न सीसी क्यामेरा प्रहरीका लागि बहुउपयोगी हुनेछ ।’
वडापालिकाको झण्डै दुई लाख ५० हजारको लागतमा सीसी क्यामेरा जडान गरिएको पनि वडाध्यक्ष थारुले जानकारी दिए । सीसी क्यामेरा जडानपछि त्यस क्षेत्रमा हुने चोरी, डकैती, तस्करी र अपराधजन्य गतिविधि नियन्त्रणमा सहज हुने पनि वडाध्यक्ष थारुले बताए ।
अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इञ्चार्ज एवं प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले सीसी क्यामेरा जडानले अपराध तथा चोरीका घटना नियन्त्रण गर्न, अनुसन्धान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरी भनाइ छ ।
उनले सीसी क्यामेरा जडानपछि अपराधजन्य गतिविधिमा संलग्न हुने व्यक्तिलाई पत्ता लगाउन प्रहरीलाई निकै सहज हुने पनि बताए । प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले भने, ‘क्यामेरा जडान पछि अपराध नियन्त्रण गर्न र अनुसन्धानमा प्रहरीलाई धेरै सहज हुनेछ ।’
।