कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका विषय
पदाधिकारी एवम् सदस्य सहभागी हुने
।
काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा केन्द्रीय समिति बैठक आज बस्दै छ ।
कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ। आजको बैठक दिउँसो ३ बजे बस्ने छ ।
बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ।
स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।
बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठनसमेत रहेको छ। पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवालाई केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि दबाब दिन थालेपछि सो विषयलाई बैठकको अजेण्डा बनाइएको हो।
बिहीबार मात्रै उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सो समिति गठन गर्न सुझाव दिएका थिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागी हुनेछन्। भर्चुअल बैठकको लिंक एसएमएसमार्फत पठाइने मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
।