सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमा समृद्धि

नेपालगन्जमा पर्यटकीय चहलपहल, पर्यटकको रोजाइमा ‘कान्ति ताल’ (भिडियोसहित)

बाँके । नेपालगन्जमा जीर्ण अवस्थामा रहेका ताल र पोखरी पुनर्निर्माण भएपछि पर्यटकीय चहलपहल बढ्न थालेको छ । वागेश्वरी मन्दिर परिसरमा रहेको ताल र रानीतलाउ पुनर्निर्माण भएर सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले ताल पुनर्निर्माणपछि सहरको सौन्दर्य बढेको र आन्तरिक पर्यटन भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । दुई दशकअघि सञ्चालनमा आएपछि लामो समय जीर्ण अवस्थामा रहेको वाटरपार्क मनमोहक तालका रूपमा विकास गरिएको छ ।

पुनर्निर्माणको काम सम्पन्न भइसकेका कारण यो ताल कोरोना संक्रमण कम भएपछि तत्कालै सञ्चालनमा आउने नगर प्रमुख डा.धवलशमशेर राणाले जानकारी दिए । वाटरपार्क पछिल्लो समय बिहान र साँझको समयमा पदयात्रा गर्नेहरूको पहिलो रोजाइमा पर्न थालेको स्थानीय भीम सुवेदीले जानकारी दिए ।

‘वाटरपार्क निर्माण भएपछि नेपालगन्जकै महत्वपूर्ण चिनारीका रूपमा रहन थालेको छ,’ सुवेदीले भने, ‘यसले अहिले नै धेरैको मन लोभ्याएको छ ।’ नेपालगन्ज–१ मा रहेको वाटर पार्क करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । यसैगरी कान्तितालको पनि लगभग निर्माण सम्पन्न भएको छ ।

यो ताल पहिलो पटक आधुनिक तरिकाले निर्माण गरिएपछि आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । अहिले नेपालगन्ज घुम्न आउने धेरैको पहिलो रोजाइ यो ताल भएको स्थानीय आशिष बर्माले बताए । वाटरपार्कजस्तै कान्तिताल पनि पदयात्राका लागि धेरै नगरवासीको रोजाइमा पर्न थालेको छ ।

मुख्य सहरभन्दा टाढै भएका कारण वाटरपार्क र कान्तिताल पदयात्राका लागि सबैभन्दा उपयुक्त मानिएको नगर प्रमुख राणाको भनाइ छ । अहिले नेपालगन्जमा क्यासिनो खेल्न तथा अन्य कामका लागि दैनिक धेरै भारतीय आउने गरेका छन् । पछिल्लो समय यहाँ निर्माण भएका ताल र पार्कले स्वदेशीसँगै भारतीय पर्यटकको समेत मन जित्न सफल भएको छ ।

कान्ति ताल निर्माणमा लगभग १० करोड रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । कान्तिताल नेपालगन्जको धम्बोझी चोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करिब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ बिघा र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा पैmलिएको छ ।

यो एउटा प्राकृतिक ताल हो । यसको पानी पहिला सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । गत बर्षदेखि उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अघि बढाएसँगै तालको पुनःनिर्माण गरेपछि अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

पर्यटकीय गन्तव्यका रूपमा विकास भएसँगै यसले वडाको सौन्दर्य पनि बढाउन थालेको छ । ‘विसं २०३९ अगाडि ताल क्षेत्र हात्तीको वासस्थानका रूपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसले तालमा ढाकेको थियो,’ तालको विगत सम्झँदै वडा नं.२२ का अध्यक्ष विद्याराम बर्मा भन्छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०९:१०