सूचनाको शक्ति - The Power Of Information

        

डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयद्धारा दाउरा वितरण

बझाङ । बझाङमा केही दिनयता हिमपातका कारण ह्वात्तै चिसो बढेपछि जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेको छ ।

चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रीक चौक, अदालत अगाडी, सिमखेतसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ ।

सोमबार र मंगलबार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले संकलन गरेका दाउराहरु वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कर्ण बहादुर खातीले बताउनुभयो ।

नगरका विभिन्न बस्तीमासमेत आगो ताप्न दाउराको व्यवस्था गरी वितरण गरिएको खातीले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले चिसोबाट बच्नेको लागी केहि राहात होस भनेर सदरमुकाम क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको बताउनुभयो ।

चिसोसँगै निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन् । चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १८:०५