सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा १६२ कोरोना संक्रमित थपिए, ४६ जना डिस्चार्ज

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७

बाँके । बाँकेमा परीक्षण भएकामध्ये मंगलवार ६५ प्रतिशत बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ४७ नमुना परीक्षण भएकोमा एक सय ६२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय ३६ जनाको नमुना जाँच गर्दा ८९, मेडिकल कलेज कोहलपुरमा ७९ जनाको नमुना जाँच गर्दा ५४ र बागेश्वरी ल्यावमा ३२ नमुना जाँच गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । नेपालगञ्ज, कोहलपुरसहित खजुरा, राप्तीसोनारी, जानकी गाउँपालिकामा पनि संक्रमण दर बढ्दै गएको देखिन्छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय २३ पुगेको छ । मंगलवार संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार तीन सय आठ पुगेको छ ।

यस्तै मंगलवार थप ४६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ४९ पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १८:४९