सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा परीक्षण भएकामध्ये ७० प्रतिशतबढीमा कोरोना

बाँके । बाँकेमा सोमवार परीक्षण भएकामध्ये ७० प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ९५ नमुना परीक्षण भएकोमा एक सय ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय २३ जनाको नमुना जाँच गर्दा ९१, मेडिकल कलेज कोहलपुरमा ४४ जनाको नमुना जाँच गर्दा ३० र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका छन् । पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सात सय २७ पुगेको छ ।

सोमवार संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार दुई सय ११ पुगेको छ ।

यस्तै सोमवार थप ३९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय तीन पुगेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:३६