सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

सडकले फेरिए ‘जानकीका गाउँबस्ती’

बाँके । संघीयतापछि निर्माण भएका स्थानीय तहहरुमध्ये बाँकेको जानकी गाउँपालिकामा सडक, बाटोघाटो निर्माणले तीब्रता पाएको र धेरै गाउँठाउँमा बाटोहरु निर्माण पनि भएका छन् ।

पालिकमा रहेको विभिन्न दुरदराजमा रहेका गाउँठाउँमा सडक ग्राभेल, नाली निर्माण, विद्युत आपूर्तिजस्ता जनताका आवश्यकतामा विकासका कामहरु भएका छन् । त्यस्तै मूख्य राजमार्गदेखि ग्रामिण बस्तीहरु जोडने प्रमुख सडकहरु कालोपत्रे हुने क्रम पनि वर्षेनी बढ्दो छ ।

संघीय संरचना बनेपछि विकास बजेट सोझै वडास्तरमा पुग्ने र वडापालिकाले नै विकासका कामहरुको प्राथमिकीकरण गरेर योजना बनाउँदा सिधै गाउँस्तरसम्म विकास पुगेको स्थानीय जनताले अनुभूती गर्न थालेका छन् ।

गाउँघरमा वर्षातमा पानी जम्ने र निकास नहुने स्थानहरुमा सडकलाई पिसिसी गर्ने काम पनि वर्षेनी भइरहेको छ । जानकी गाउँपालिकामा अधिकांश मधेसी समुदायका मानिसहरुको बसोबास रहेको पाइन्छ ।

विभिन्न वडाहरुमा रहेका पोखरी, तालतलैया, कुवा, सार्वजनीक धारा, सार्वजनिक प्रतिक्षालय, सार्वजनिक शौचालय, सार्वजनिक स्थलहरुको स्तरोन्नती, सरसफाइ, संरक्षणमा समेत गाउँपालिकाले बजेट विनियोजन गरेर स्थानीय जनताको आवश्यकता पुरा गर्ने काम पनि गरिरहेको छ ।

लामो समयपछि सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो बर्ष स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन, नियम, कार्यविधिहरु बनाउनुपर्ने बाध्यताले सोचे जति काम गर्न नसकेको गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धिताल बताउँछिन् । गाउँपालिकाभित्र ८० प्रतिशतभन्दा धरै योजनाहरु सम्पन्न हुँदै आएका छन् ।

संविधानले नै स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखहरुलाई न्यायिक समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक, उपभोक्ता हित संरक्षण समितिको संयोजक, सहकारी तथा संघसंस्था समन्वय समितिको संयोजक, गाउँपालिकास्तरका योजनाहरुको अनुगमन समितिको संयोजक जस्ता कामको जिम्मेवारी तोकिदिएको छ ।

गाउँपालिकामा औद्योगिक क्षेत्रको विकासको निम्ति छुट्टै क्षेत्र छुटयाउने र त्यसमा विद्युतको सुविधा, सुरक्षाको सुविधा, सडकको सुविधा जस्ता सुविधाहरु दिएर जिल्लाकै नमूना औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सोचाई रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष धितालको भनाई छ ।

वडाको बजेट विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सडक, रोजगार लगायतका क्षेत्रहरुमा लगानी गरिएको छ । जनप्रतिनिधिहरु आइसकेपछि स्थानीय जनतामा उत्साह पैदा भएको छ । सडक नै विकासको प्रमुख आधार रहेकाले सबैभन्दा पहिला सडक र पानी निकासका लागि पुल, कल्भर्ट नै बनाउनुपर्ने आवश्यकता छ ।

शान्ति सुरक्षाका लागि वडामा प्रहरी चौकी, चेक पोष्टहरु निर्माण गरिएका छन् । यस्तै गाउँपालिकाका वडाहरुमा पनि विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । पक्की सडक निर्माणले धेरै नागरिकलाई आवातजावत र सरसामानमा ढुवानीमा सजिलो भएको छ । साना बाटोहरुलाई फराकिलो बनाउने काम धमाधम भइरहेको छ र ढल निकासका कामले निरन्तरता पाएका छन् ।

सिक्टा सिचाइँको शाखा नहरबाट पानी ल्याएर सिचाइँ गर्ने योजनाअनुरुप यो वडामा सिचाइँका कामहरु भइरहेका छन् । वडाको विकास निर्माणमा मूख्यरुपमा सडकमा माटो पटान रहेको छ । पहिला बाटो साँघुरो भएकाले आवातजावतमा निकै अप्ठ्यारो थियो । हिलाम्मे बाटोले सबैलाई सकस हुँदै आएको थियो ।

अहिले पिसिसी बाटो निर्माणले निकै सजिलो भएको छ । गाउँपालिकाले सडकहरुलाई पिसीसी गराउने कामलाई प्राथमिकता दिएको छ । जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा जानकीका गाउँबस्तीहरु सडक सञ्जालले घेरिएका छन् ।

विकास भएको त्यो बेला देखिन्छ, जतिबेला गाउँठाउँका बाटाहरु पक्की बन्छन् । अहिले नयाँ बाटाहरु बन्नुका साथै सडक विस्तारलाई अभियानकै रुपमा अघि बढाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरु जेलिँदै गएका छन् । बाटोको अवस्था दयनीय हँुदा हिँड्डुल गर्न नै मुश्किल पर्ने जानकीका सडक स्थानीय सरकार आएपछि सुधारिँदै गएका छन् ।

साना तथा ठूला सडकहरु बन्ने क्रममा छन् । केही सडकहरु पक्की बनिसकेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको छ । सडकलाई शुरुदेखि नै फराकिलो बनाउने सोचका साथ विकास निर्माणका कामहरु भइरहेको गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताइन् ।

‘गाउँपालिकामा धमाधम सडक बनिरहेका छन् । गाउँगाउँमा पक्की सडकहरु बन्न थालेपछि स्थानीय पनि खुशी छन्,’ कार्यबाहक अध्यक्ष धितालले भने । जनप्रतिनिधि आएपछि जानकीको विकासमा तीव्रता आएको छ । गाउँगाउँमा फराकिला सडक बनेको देख्दा जानकी गाउँपालिकाबासी दङ्ग छन् ।

स्थानीयकै सहयोगमा जानकीमा सडक विस्तार तथा स्तरोन्नतीको काम गर्न सजिलो भएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष धितालले जनाइन् । उनले भने, ‘शुरुमा सडक बनाउँदा आनाकानी गर्ने स्थानीयले पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई साथ दिए ।’ उनका अनुसार घर अगाडि गाडी नै गुड्ने पक्की सडक बनेपछि स्थानीय खुशी छन् ।

जानकीका अधिकांश सडकहरु कृषि सडकमा परिणत भएसँगै किसानलाई उत्पादन गरेको अन्नबाली सहजै नेपालगन्जसम्म पुर्याउन सहज भएको छ । ‘जनतालाई दिने सेवा सुविधामा कुनै कञ्जुस्याइँ गरिएको छैन,’ कार्यबाहक अध्यक्ष धितालले भनिन् । यो गाउँपालिकामा सडक पूर्वाधारको हिसाबले महत्वपूर्ण काम हो ।

जानकीका गाउँबस्तीमा धमाधम स्तरीय सडकहरु बनिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । यहाँका सबै सडकलाई स्तरोन्नती गर्ने कार्य भइरहेको उनले बताए । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की सडक बनाउने योजना अन्तरगत ६ वटै वडामा पक्की सडक निर्माण भइरहेका छन् ।

मुख्य सडकमध्ये धेरै सडकहरु कालोपत्रे तथा पीसीसी भइसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत रानाले भने, ‘सडक स्तरीय थिएनन् । जसका कारण नागरिकहरुले निकै दुःख झेल्नुपरेको थियो तर, अहिले जानकीको अवस्था पहिलेको भन्दा निकै फेरिएको छ । सडकहरु स्तरोन्नति गरेसँगै जानकीका भित्रि गाउँहरुमा आउजाउ गर्न समस्या छैन ।’

स्थानीय सरकारले वडाका बस्तीलाई सडक सञ्जालसँग जोडेपछि जानकीबासीलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ । स्थानीय तहको निर्वाचन भएदेखि हालसम्मको अवधिमा जानकी निकै बदलिएसँगै जानकीबासीको जनजीवनसँगै दैनिकीसमेत फेरिएको छ । जनप्रतिनिधिकै सक्रियतामा जानकीको हरेक क्षेत्रले काँचुली फेर्दै अघि बढेको छ ।

जानकी गाउँपालिका कृषि र औद्योगिक क्षेत्रको हब पनि मानिन्छ । यस गाउँपालिकाको अधिकांश वडाहरुमा धानखेती प्रशस्तै हुने गर्दछ भने सिक्टा सिचाइँका कारण हिउँदे बाली गहुँ तथा अन्य नगदे बालीहरु उत्पादनमा पनि राम्रो सम्भावना छ । जानकी गाउँपालिकाका नागरिकहरुको प्रमूख पेशा नै कृषि हो ।

कृषि सम्बन्धी बीउवीजन उत्पादन गर्ने, गे्रडिङ गर्ने, विक्री गर्ने, तालिम दिने लगायतका काम गर्ने कृषि अनुसन्धान केन्द्रको क्षेत्रीय अनुसन्धान केन्द्र तथा प्रयोगशालासमेत यसै गाउँपालिकामा पर्ने भएकाले कृषिमा विशेष आकर्षण रहेको देखिन्छ । यहाँ रहेका ठूलाठूला खेतको फाँटहरु नै अन्न उत्पादनका उर्वरा जमिन हुन् ।

वडा नं. ६ स्थित गनापुरको बीचबाट सिक्टा सिचाइँ नहरको सहायक नहरका कारण सिचाइँ सुविधासँगै कृषि व्यवसाय फस्टाउँदै गएको छ । कृषिलाई आधुनिक व्यवसायिक पेशाको रुपमा विकास गर्न सकेमा यस वडाको विकास निर्माणको साथै आर्थिकरुपमा पनि समृद्धि हुने गाउँपालिकाको विश्वास छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १५:२४