सूचनाको शक्ति - The Power Of Information

        

यस बर्ष देखिएन ‘लोभीपापी गरूड’

तुलसीपुर । जाडो याममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने ‘लोभीपापी गरुड’ यस वर्ष भने देखा परेको छैन । विश्वमै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।

लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो । पाँच वर्षदेखि यस क्षेत्रमा जलपंक्षी गणना गर्दै आएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपंछी गणनाका क्रममा लोभीपापी गरुड देखिएन ।

उनका अनुसार यस वर्ष कालो गरुड एउटा मात्र भेटिएको थियो । गत वर्ष देखिएको जुरे हुटिट्याउँ र खोयाँ हाँस पनि यो वर्ष देखिएन । लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पंछी हो ।

वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलकभर पानीचरा गणनाको काम भएको थियो । देउखुरी क्षेत्रमा संयोजन गर्दै आएका खनालका अनुसार राप्ती नदीमा भालुवाङबाट सुरु गरिएको पहिलो चरणको गणना महदेवा पुलसम्म गरिएको हो ।

दोस्रो चरणमा लमहीको मध्यनगर घाटदेखि, लमही गड्वा जोड्ने राप्ती पुलसम्म गरिएको हो । उनका अनुसार यो पटकको गणनामा रिहारमा बनेको नयाँ तालमा समेत केही चरा देखिएको छ ।

जखेरा ताल, चरचरे तालमा भने चराको देखिएन । गणनामा खोले हुटिट्याउँ, जलेवा, डुबुल्की चरा, सिलसिले र सुनजुरे हाँसजस्ता चरा पनि भेटिएका छन् । पछिल्लो समयमा नदीजन्य पदार्थको सङ्कलन र नदी तटमा तटबन्धनको काम भइरहेको हुँदा चरा नआएको हुन सक्ने उनले बताए ।

रिहारमा बनेको नयाँ सिमसारमा चरा देखिनु पर्यापर्यटन र अनुसन्धानकर्ताका लागि सुखद कुरा भएको समेत उनको भनाइ छ । पछिल्लो समय दाङ उपत्यकामा कृत्रिम ताल बन्न थालेपछि चराको आकर्षणसमेत बढ्न थालेको चरा गणना गर्दै आएका पर्यावरणकर्मी डिल्लीबहादुर रावतले बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०८:०७