राज्यका तीन तहका सरकारमध्ये एक हो, स्थानीय सरकार । नागरिकको नजिकैको सरकारको रुपमा रहेको स्थानीय सरकारसँग नागरिकका धेरै आशा र अपेक्षा जोडिएका हुन्छन् । स्थानीय तहको सञ्चालनको लागि त्रिपक्षीय सम्बन्ध निकै महत्वपूर्ण मानिन्छ । नागरिक, जनप्रतिनिधि र कर्मचारी स्थानीय सरकार सञ्चालन गर्ने मुख्य संयन्त्र हुन् ।
कर्मचारीतन्त्र सरकार सञ्चालनको स्थायी सरकार हो । लोकतान्त्रिक प्रक्रियामा नागरिकको जनमत प्राप्त गरेर आउने जनप्रतिनिधि एक आवधिक निर्वाचनपछि फेरिन्छन् । तर कर्मचारीतन्त्र भनेको स्थायी संरचनासमेत हो । त्यसैले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक छ । स्थानीय सरकार सञ्चालनमा आएको साढे चार वर्षमा स्थानीय सरकार सञ्चालनमा समस्या देखिएका छन् ।
बाँकेको जानकी गाउँपालिका विकासको चरणमा रहेको पालिका हो । संघीयता अघि र पछिकोे जानकी, विगत साढे चार वर्षमा भएका प्रगति, समस्या, भोग्नुपर्ने चुनौती, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध तथा आगामी योजनाका विषयमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानासँग गरिएको कुराकानी अंश :
जानकी गाउँपालिकाको वर्तमान अवस्था कस्तो छ ?
संघियता आएपछि गाउँगाउँमा सिंहदरबार भन्ने गरिन्छ । संघियता आइसकेपछि अर्थात् जनप्रतिनिधि चुनिनुभन्दा पहिले र जनप्रतिनिधि आइसकेपछि जानकी गाउँपालिकाको विकासको अवस्था हेर्दा मैले आकाश पतालको फरक पाएको छु । पहिले गाउँपालिकाभित्रकै गाउँमा बर्षात्को समयमा सडकहरु हिलाम्ये हुन्थे, बर्षात्को समयमा मोटरसाइकलमा आउजाउ गर्न पनि निकै गाह्रो थियो ।
स्थानीय सरकार निर्माण भएपश्चात हरेक टोलमा व्यवस्थित सडकहरु बनेका छन् । सडकहरु कालोपत्रे र ढलान भएका छन् । कच्ची सडकहरु ग्राभेल गरिएको छ भने आवश्यकता अनुसार नयाँ सडकहरु खोलिएका छन् । बर्षात्मा आएको पानी वा फोहोर पानी नाला हुँदै बग्ने भएकोले पहिलेजस्तो समस्या अहिले छैन । यसका साथै हामी स्थानीय तहका कर्मचारीहरुलाई नागरिकको हितका लागि काम गर्ने वातावरण बनाउन सक्रिय छौं ।
अहिले स्थानीय तहका विभिन्न शाखामा आवश्यक पर्ने जनशक्ति प्रयाप्त छन् । उद्योग, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि खानेपानी लगायतका सबै क्षेत्रमा प्रयाप्त काम भएका छन् । हाम्रो गाउँपालिकामा कर्मचारीको अभावमा कुनै पनि काम रोकिएका छैनन् । यद्यपी अहिले पनि स्थानीय तहमा यावत किसिमका समस्या छन् । ती समस्याहरु जनप्रतिनिधि र कर्मचारीको समन्वयमै समाधान हुँदै गइरहेका छन् ।
गाउँपालिकाले करार सेवासमेत कर्मचारी लिएर सेवा प्रवाह गरिरहेको छ । हामी बजेट तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं । विगत साढे चार वर्षको अवधि र त्योभन्दा पहिलेको अवधि हेर्ने हो भने जानकी गाउँपालिकाले विकासको फड्को मारेको छ । तुलनात्मक रुपमा हेर्दा जानकी गाउँपालिकामा अपेक्षित विकास भएको छ । सबैभन्दा ठूलो कुरा हामीले संघीयतको बलियो जग बसालेका छौँ । समग्रमा हाम्रो गाउँपालिका उद्देश्य प्राप्तिको लक्ष्यमा लम्किरहेको छ ।
अहिले गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा थप उपलब्धी भएको छ ?
हाम्रो पालिकामा स्वास्थ्य र शिक्षामा मात्रै नभएर उद्योग, कृषि लगायतका सबै क्षेत्रमा उपलब्धिमूलक कार्य भएको छ । यहाँको शैक्षिक गुणस्तर सुधारका लागि पनि हामी निरन्तर लागिपरेका छौं । ५ वटा माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय र १७ वटा प्राथमिक विद्यालय गरी २४ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप सुधारका लागि हामीले प्रयास गरिरहेका छौं ।
यस्तै १४ वटा मदरसा, १ वटा गुरुकुल र ४३ वटा प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाईलाई पनि गुणस्तर बनाउन जनप्रनिधि र कर्मचारीहरु अहोरात्र खटिनुभएको छ । विद्यार्थीहरुको ज्ञानलाई गुणस्तरीय बनाउन विभिन्न शैक्षिक क्रियाकलाप तथा गतिविधिहरुमा जोड दिइरहेका छौं । भौतिक संरचनाको मात्रै विकास गरेर गुणस्तरीय शिक्षा बनाउन नसकिने हुँदा भवनबाहेक अन्य भौतिक व्यवस्थापनलाई पनि हामीले जोड दिएका छौं ।
विगत साढे दुई वर्षदेखि हामी कोभिडको महमारीसँग लडिरहेका छौं । जसको कारण सबैभन्दा बढि छेदविच्छेद भएको क्षेत्र शिक्षा नै हो । कोरोना महामारीकै कारण विद्यालयहरु दुई बर्ष त बन्द नै भए । कोरोना महामारीको प्रकोप अझै पूर्णरुपमा अन्त्य नभएकाले त्यसको सावधानीका लागि अपनाउनुपर्ने आनीबानी सुधारका लागि स्वास्थ्य सामाग्री खरिद (साबुन, मास्क, सेनिटाइजर, इन्टरनेट जडान)का कार्य, किशोरीहरुलाई समस्या हुने कारणले विद्यालय छाड्ने बाध्यता हटाउन प्याड वितरण कार्यक्रमजस्ता सञ्चालन गरिरहेका छौं ।
त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि प्रभावकारी बनाउन र स्वास्थ्य सेवा प्रवाहलाई थप चुस्त बनाइहेका छौं । ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट प्रभावकारी रुपमा सेवा सञ्चालन भइरहेको छ । ती स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवालाई सेवाग्राहीमुखी बनाउन हामी निरन्तर लागिपरेका छौं । नेपाल सरकारले पठाउने गरेको औषधी पनि जनताले पाइरहेका छन् । जटिलखाले उपचार बाहेकको अवस्थामा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था जानकी गाउँपालिकामा छैन ।
अझ कोरोना महामारीले हाम्रो स्वास्थ्य क्षेत्रलाई सुधार गर्न र थप प्रविधिमय बनाउनुपर्छ भन्ने कुराको सिकाई भयो । यसले हामीलाई जस्तोसुकै महामारीसँग पनि लड्न सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ । तेस्रो लहरको कोरोना महामारीको लडाईका लागि गाउँपालिकाले आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरेर अहिले नै पूर्व तयारी थालिएको छ । यसका लागि पनि तालिम प्राप्त स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा रहनुभएको छ । यसकारण पनि जानकीको स्वास्थ्य अवस्था ‘अब्बल’ बन्दै गएको छ ।
कृषक लाभान्वित योजना पनि गाउँपालिकासँग छ ?
कृषकहरुलाई लाभान्वित हुने गरी उन्नत जातको धानको बीउ, रसायनिक मल, किटनाषक औषधी, स्प्रे ट्याङ्की, सिचाईको अभाव भएको ठाउँमा डीप ट्युवेल बोरिङ्ग जस्ता कार्यक्रमहरु भइरहेका छन् । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा विस्तार गर्न हामी लागिपरेका छौं । किसानहरुलाई खेतीपाती गर्न आवश्यक पर्ने सिपमूलक तालिमसहित कृषि उपकरणहरु पनि दिइएको छ ।
यस्तै पालिकालाई युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न थुप्रै कार्यक्रमहरु सञ्चालनमा छन् । पालिकाले युवा किसानहरुमा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क र अनुदानमा विभिन्न अन्नवाली तथा तरकारीको बिउ वितरण गर्दै आएको छ भने ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिट बिउ वितरण गरिरहेको छ भने मिनी किट बिउ निःशुल्क रुपमा वितरण गरिरहेको छ ।
गाउँपालिकाले बेरोजगार र निम्न आय भएका युवा लक्षित कस्ता कार्यक्रम ल्याएको छ ?
अन्य स्थानीय तहमा जस्तै हाम्रो गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । जसमा बेरोजगार युवा, महिला वा अन्य नागरिकलाई उनीहरुको सीप र क्षमता अनुसार रोजगारी दिइरहेका छौं । रोजगारतर्फ संघ र प्रदेशमार्फत प्राप्त बजेटको प्रयोग गर्दै बेरोजगार युवा लक्षित व्यवसायीक तालिममार्फत रोजगारी उपलब्ध गराउने लगायतका कार्यहरु गर्दै आएका छौं ।
गाउँपालिकाका करिब ९० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध हुनुहुन्छ । पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत शाखाले पशुहरुको स्वास्थ्य परिक्षण र उपचार सेवा प्रदान गर्ने, महामारी रोगबिरुद्धका खोप कार्यक्रमहरु सञ्चालन गर्ने, आकस्मिक रोगहरु देखापरेमा स्थलगत निरक्षण गर्दै निराकरण गर्ने गरिएको छ । यसमा कर्मचारीहरु सक्रियरुपमा लागि पर्नुभएको छ ।
यस्तै पशु विकास कार्यक्रमअन्तर्गत साना पशु वितरण, नस्ल सुधार कार्यक्रम, पशुपालक किसानलाई तालिमहरु प्रदान गर्ने, व्यवसायीक कार्यक्रमहरु सञ्चालन गर्ने सिजन अनुसार घाँसका बीउ वितरण लगायतका कार्यक्रम गरिने गरिएको छ । गाई तथा भैंसीपालक किसानहरुलाई गाई र भैसी वितरण गरेका छौं । यस्तै, कृषि अन्तर्गत किसानलाई उन्नत जातको बाख्रा वितरण गरेका छौं । यसका साथै पशु प्राविधिकहरुलाई पनि दक्षता प्रदान गर्ने उद्देश्यले प्रयोगशाला सम्बन्धी तालिम पनि प्रदान गर्ने गरेका छौं ।
गाउँपालिकाभित्रका सडक तथा बाटोघाटोको अवस्था कस्तो छ ?
सडकलाई शतप्रतिशत त सुधार गर्न सकेका छैनौं । तर साढे चार वर्षको अवधिमा धेरै फड्को मारिसकेका छौं । सबै सडक र बाटोघाटो स्तरोन्नती भइसकेका छन् । केही कालोपत्रे भएका छन्, केही ढलान भएका छन् भने केही ग्राभलिङ्ग गरेका छौं । सबै एकाध बस्तीमा अझै पनि सडक स्तरोन्नतीका काम भइरहेका छन् । सबै टोलहरुमा ग्राभेल भई ढलान वा पिच भइसकेको अवस्थामा मात्रै सडक पूर्ण भयो भन्न सकिन्छ । त्यसले गर्दा सडकको अवस्था सतप्रतिशत सम्पन्न नभए पनि सोंचेभन्दा बढी विकास भएको छ ।
गाउँपालिकाको गाउँसभामा कस्ता योजनाहरु प्राथमिकतामा पर्छन् ?
पालिकाभित्र हुने सबै कार्यको योजनालाई प्राथमिकतामा राखी गाउँसभा सम्पन्न भएको थियो । खासगरी शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि लगायतका योजनामा बढी फोकस गरिएको छ । अधुरा सडक र नालालाई पूर्णता दिने, कच्ची बाटोलाई पक्की र ढलान गरी बाटोघाटोको समस्यालाई दिर्घकालीन समाधान गर्ने योजना छ । पालिकाभित्र रहेका हरेक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी योजना तयार गरिएको छ । क्रमिक रुपले विकासको गतिलाई अगाडी बढाइनेछ ।
अन्त्यमा, स्थानीय तहमा बसेर काम गर्दा यहाँको अनुभव कस्तो रहयो ?
यो नयाँ शासकीय प्रणाली हो । नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास पहिलोपटक गरिरहेको छ । हाम्रो मूल दायित्व भनेको नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्ने हो । राज्यबाट प्रवाह हुने सेवा सहज रुपमा प्रदान गर्नु हाम्रो कर्तव्य रहन्छ । यही मर्मलाई आत्मसाथ गर्दै जानकी गाउँपालिकाले नागरिकको निकट रहेर काम गरिरहेको छ ।
समग्रमा दैनिक सेवा प्रवाह, सेवा सुविधा नागरिकको नजिकै रहेर दिइरहेका छौ । समृद्ध जानकीकै लागि हामी निरन्तर खटिएका छौँ । आगामी दिनमा पनि खटिरहने छौँ । कर्तव्य र जिम्मेवारीका हिसाबले परिपक्व कर्मचारी आजको आवश्यकता हो । स्थानीय तहका कर्मचारीहरुलाई थप तालिमका साथै प्रोत्साहन गर्न पनि आवश्यक छ ।
।