सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

निर्वाचनपछि राप्तीसोनारी वडा नं. ७ का ‘टोलटोलमा विद्युतीकरण’

फाइल तस्वीर

बाँके । ‘नेपालमा संघीय संरचना कार्यान्वयन हुनुअघि विकासको गतिलाई अनुमान गर्ने हो भने कछुवाको गति समान थियो भन्दा फरक पर्दैन,’ बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुले भने । उनका अनुसार स्थानीय तहको निर्वाचनअघि पनि विकास त भइरहेको थियो । तर सबै क्षेत्रको विकासमा समस्या चाँही थियो ।

‘एकपटक एकातिर हुने अर्को पटक अर्कोतिर हुने गरी हुन्थ्यो । हुनत अहिले पनि त्यही छ, तर बजेटको मात्राले गर्दा पहिलेको भन्दा अलि बढि काम अहिले देखिएको छ,’ वडाध्यक्ष थारुले भने । उनको भनाईले प्रष्ट पार्छ कि निर्वाचन अघि वा भनौ संघीय संरचनाअघिको भन्दा संघीयता कार्यान्वयनपछि गाउँगाउँमा विकासको गतिले तीब्रता पाएको छ । गाउँघरमा हेर्दा पनि त्यस्तै देखिन्छ ।

यो कुरा स्वयम् वडाध्यक्ष थारुको आफ्नै वडामा पनि कार्यान्वयन भएको पाउन सकिन्छ । सबै पक्ष र विषयबस्तुमा अध्यक्ष थारुको वडामा संघीय सरंचना कार्यान्वयनपछि नै तीब्र गतिमा विकास भएको देखिएको स्थानीयहरु बताउँछन् । त्यसमध्येको एक हो, विद्युतीकरण कार्य । बाँकेको बघौडा क्षेत्रसँग जोडिएको यो क्षेत्र पनि कुनै समय विद्युतको समस्या झेल्नुपर्ने अवस्था थियो ।

निर्वाचन अघिसंम्म यस वडामा करिब ५० प्रतिशत जनताले मात्रै विद्युतको पहुँचमा पुगेका थिए । वडाध्यक्ष थारु भन्छन्, ‘निर्वाचित भएर आउँदा यहाँका ५० प्रतिशत घरमा मात्रै विद्युत पुगेको थियो । बाँके घरधुरी विद्युतको पहुँचबाट टाढा रहेका थिए । आफ्ना जनतालाई बिद्युतसंग नजिक बनाउन निर्वाचित भएर आएको जनप्रतिनिधिको सक्रियतामा सकारात्मक प्रयास भएको पनि देखिन्छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस वडाको २४ वटै टोलमा विद्युत बिस्तारको काम भइसकेको छ । निर्वाचित भएलगत्तै वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण नेपालगन्जको समन्वय सहकार्यमा २४ वटै टोलमा विद्युत पुर्याएको हो । विद्युतीकरणका लागि निर्वाचनको पहिलो वर्षमै ७ नम्बर वडा कार्यालयले करिब १८ लाख रुपैयाँ खर्च गरेको छ ।

शुरुमा वडा कार्यालयले सो लागतमा अधिकांश टोलमा विद्युत पोल गाडेपछि विद्युत प्राधिकरणले तार तान्ने र विद्युतीकरणको काम गरेको वडाध्यक्ष थारुले जानकारी दिए । ‘हामीले शुरुका वर्षमा विद्युत बिस्तारका लागि विद्युत प्राधिकरणसँग समन्वय गर्यौं,’ वडाध्यक्ष थारुले भने, ‘पछि विद्युत प्राधिकरणले वडावडामा विद्युत पु¥याउने काम गरेको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो ।’

स्थानीय तहको निर्वाचनअघि ५० प्रतिशत वडाबासी विद्युतविहीन थिए । वडाभित्रका अधिकांश गाउँ नागरिकहरु टुकीकै उज्यालोमा बस्न बाध्य थिए । स्थानीय तहको निर्वाचनपछि प्रत्येक टोलटोल र घरघरमा अत्यावश्यकीय विद्युत् सेवा पुर्याउने उद्देश्य राखेर विद्युतीकरणको कामलाई अभियानकै रुपमा अघि बढाएपछि यतिबेला वडाका बस्तीहरु झलमल्ल भएका छन् ।

स्थानीयको समस्या र उनीहरुको बढ्दो मागलाई दृष्टिगत गरी बिजुलीलाई प्रमुख प्राथमिकतामा राखेर विद्युतीकरण गरिएको वडाध्यक्ष थारुको भनाई छ । वडाबासीहरु आफ्नो घरमा पनि बिजुली बाल्न पाएकोमा खुशी छन् । स्थानीय तहमा निर्वाचित भएपछि वडाध्यक्ष थारुले विजुलीको प्रमुख समस्या समाधान गर्ने घोषणा नै गरेका थिए ।

‘चुनावताका गरेको प्रतिवद्धताअनुसार नै मैले जनताको काम गरेको छु,’ आफ्ना प्रतिवद्धताहरु स्मरण गर्दै उनले भने, ‘त्यसमध्ये एउटा विद्युतीकरणको काम पनि थियो । त्यसलाई पूर्णरुपमा कार्यान्वयन गरेरै देखाएँ ।’ विद्युतीकरण मात्रै नभएर वडाध्यक्षको सक्रियता र विकास निर्माणका अन्य कार्यहरु तीव्ररुपमा अघि बढेपछि वडाबासीहरु खुशी छन् ।

वर्षौदेखि अध्याँरोमा बस्न बाध्य वडाबासीहरु बिजुली बाल्न पाएपछि खुशी देखिएका छन् । वडाबासीलाई बिजुली आएपछि अब अध्याँरोमा बस्नुपरेन । टिभी हेर्न, मोबाइल चार्ज गर्न, मोटरबाट सिँचाइ गर्न सजिलो भएको छ । वडाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध भएकाले उनीहरुको खेतखेतमा विद्युतीकरण गरिदिएर व्यावसायिक कृषिलाई टेवा पुग्ने पनि वडाध्यक्ष थाहरुले बताए ।

२०७५ मा गरिएको एक सर्वेक्षण अनुसार यस वडामा २ हजार ४९८ घरधुरीमा १० हजार ५९४ जनसंख्या रहेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय तथा विद्युत प्राधिकरणले बिस्तारको प्रयास गर्दै गर्दा पनि अझै केही टोलहरुमा विद्युत पुर्याउने कार्य बाँकी नै छ । बाँकी रहेका टोलहरुमा पनि यसै बर्षभित्र विद्युतीकरणको काम सक्ने तयारी भइरहेको वडाध्यक्ष थारु बताउँछन् ।

यसअघि टुकीको भरमा बस्दै आएका स्थानीयहरु विद्युतीकरणपछि हर्षित छन् । यस्तै हुलाकी राजमार्गसँग जोडिएका बस्तीमा चहलपहल तथा रातीमा पनि उज्यालो बनाउन सडक बत्ती जडान गर्ने वडा कार्यालयको योजना छ । ९ किलोमिटर हुलाकी राजमार्गसँग जोडिएका वडाका गाउँहरुमा सडक बत्ती जडान गर्न वडा कार्यालयले योजना तयार गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १५:३८