सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

गठबन्धन सरकार पूरै असफल : ओली

(वक्तव्यको पूर्ण पाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धनको वर्तमान सरकार असफल भइसकेको दाबी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तब्यमार्फत १५ बुँदे असहमति प्रस्तुत गर्दै सरकार असफल दिशामा उन्मुख भएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि जारी गरिएको वक्तब्यमा अध्यक्ष ओलीले राज्यका तीन वटै अंग संकट उन्मुख रहेकोसमेत उल्लेख गरेका छन् । पाँच दलीय गठबन्धन सरकार असफल दिशामा उन्मुख भएको आरोप पनि अध्यक्ष ओलीले लगाएका छन् ।

उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत रहेको र स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गर्दै उनले संविधानले स्थानीय तहको म्याद सकिनुभन्दा दुई महिनाअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको आरोप लगाए ।

१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण, सुशासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताए । राज्यका तीनवटै निकाय संकट अवस्थामा रहेको उनको भनाइ छ । देशको आर्थिक अवस्था संकट अवस्थामा रहेको भन्दै आर्थिक परिसूचक सबै ओरालो लागेको दाबी पनि गरेका छन् ।

उनले अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले विस्थापन गरी नयाँ कार्यक्रम घोषणा गरे पनि सबै असफल बनेको उल्लेख गरेका छन् । ओलीले ८ पेज लामो वक्तव्यमा असार २९ मा पाँच दलीय गठबन्धन सरकार बनेयता अर्थतन्त्रका हरेक सूचक नकारात्मक भएको पनि जिकिर गरेका छन् ।

ओलीले सरकार असफल भइसकेकाले नागरिक तहमा पनि आक्रोश बढिरहेको उल्लेख गरेका छन् । उनले आइतवार दिउँसो केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर ओली र पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि उक्त पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १३:३०