सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना सङ्क्रमण दर उच्च, २१–३० वर्ष उमेर समूहका धेरै सङ्क्रमित

कोरोना सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो ।

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो । देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ ।

समग्रमा सङ्क्रमण दर ४६.३ प्रतिशत छ । नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् ।

त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना सङ्क्रमित थपिएका छन् ।

त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा मोरङमा २७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सयजना सङ्क्रमित थपिएका छन् ।

५०० सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

नेपालमा प्रति दश लाख जनसङ्ख्या ३८३.५ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

हालसम्म १ करोड ६२ लाख ४२ हजार ४५६ जनाले पहिलो मात्रा, १ करोड २८ लाख ७० हजार ८६७ जनाले पूर्ण मात्रा र १ लाख ४२ हजार ५८९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १७:२९