बाँके । कृषि शब्द सुन्नेबित्तिकै मान्छेलाई नेपाल कृषि प्रधान देश हो भन्ने सम्झना आउँछ । कृषि कर्म नेपालका धेरैजसो मानिसहरुले गर्ने कर्म भएकाले कृषिप्रधान देशको रुपमा नेपाल चिनिएको हो । २०५८ को नेपालको जनगणनाको कुरा गर्ने हो भने त्यतिबेला नेपालमा ८१ प्रतिशत मानिसहरुको मुख्य पेशा नै कृषि रहेको थियो ।
नेपालका अधिकांश व्यक्तिहरु कृषि कर्ममै संलग्न हुन्थे । त्यही कृषि कर्मबाट उत्पादन हुने अन्न विदेश पनि पठाइन्थ्यो । मेहनतको फलका रुपमा धेरै मात्रामा उत्पादन हुने बस्तुहरु देश बाहिर पठाइन्थ्यो । यहाँ उत्पादन हुने धान, गहुँ, मकै, जौ, मसुरो, केराउ देश बाहिर बिक्री गर्ने चलन थियो । २०५८ सालमा जनगणनामा उल्लेख भएको प्रतिशत भने पछिल्लो समय घट्दै गएको देखिन्छ ।
तर पछिल्लो नेपालको बढ्दो विकास क्रमलाई हेर्ने हो भने कृषि कर्म गर्ने मानिसहरुको संख्या घट्दै गएको देखिन्छ । यसका प्रत्यक्ष उदाहरणहरु धेरै नेपाली कमाउन विदेशिनु, यहाँका तराईका धेरै भू–भागको जग्गा बाँझो देखिनु अर्थात् खाली हुनु पनि हो । एकातिर कृषि कर्म गर्ने मानिसहरु जति स्वदेशमा रोजगार नभएर देश बाहिर गएको अवस्था छ भने अर्कोतर्फ सरकारले कृषि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
संघीय संरचना अनुसार नेपालीलाई कृषिमा आकर्षित गराउन सरकारले वडास्तरबाट समेत कृषि अनुदान कार्यक्रमहरु सञ्चालन गरेको पाइन्छ । कृषिमा अब्बल बनाउन सकिने र थुप्रै सम्भावनाहरु भएको कृषिका लागि आवश्यक भौगोलिक क्षेत्र भएको राप्तीसोनारी गाउँपालिका वडा नं ७ पनि हो । यहाँ पनि किसानलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
यहाँका किसानहरु बिगतका वर्षहरुदेखि नै आफ्नै मेहनत कर्मले कृषि कर्म गर्दै आएको भए पनि हाल वडा कार्यालयले पनि कृषहरुलाई सहयोग गर्दै आधुनिक खेतीतर्फ आकर्षित गराउने प्रयासको थालनी गरेको छ । ७ नम्बर वडा कार्यालयले परम्परागत कृषि कार्यलाई बिस्थापित गर्दै उत्पादन बृद्धि, उन्नत बीउबिजन वितरण गरी स्थानीयलाई प्रोत्साहित गर्ने कार्यहरुको थालनी गरेको छ ।
वडाध्यक्ष रामलखन थारुका अनुसार वडामा सम्पूर्ण किसानलाई उन्नत धान र गहुँको बीउ वितरण गरिएको छ । अनुदानमा यहाँका ४०० कृषकलाई उक्त उन्नत बीउ बितरण गरिएको हो । ‘उन्नत बीउ बितरणमार्फत किसानहरुले गर्दै आएको उत्पादनमा बृद्धि होस्,’ वडाध्यक्ष थारुले भने, ‘यसरी जब उत्पादनमा बृद्धि हुन्छ, अनिमात्र किसानहरु उन्नत बीउ बिजनतर्फ आकर्षित हुन्छन् र वडाको कृषि उत्पादनमा राम्रो अवस्था सृजना गर्न सकिन्छ ।’
यो वडाका अधिकांश घरमा किसानहरु छन् । अधिकांशले किनेर खानुपर्ने अवस्था पनि छैन । वडामा रहेका सबै घरधुरीमा आफ्नो जग्गा छ । कसैसँग खान पुग्ने र खाएर पनि बेच्ने गरी छ भने कसैसँग खान नपुग्ने पनि अवस्था छ । तर सबैजना कृषि कर्मसँग जोडिएका छन् । अनि अर्को सकारात्मक पक्ष यो वडा सिँचाइका लागि अन्य बिकट क्षेत्रजस्तो छैन । राप्ती नदिसँग जोडिएको यस वडामा चुरेबाट ससाना खोलाहरु समेत छन् ।
जसले कृषि कर्मलाई सघाएको पाइन्छ । तर पनि उत्पादन बृद्धिका लागि वडाले तरकारी खेतीका लागि बीउ र पानी तान्ने मोटर वितरण गरेको छ । यस्तै किसानहरुको खेतसम्म सिँचाइ कार्यलाई सहज बनाउन सिँचाइ कुलोसमेत निर्माण गरेको छ । यस वडाको सर्रा गाउँमा करिब एक किलोमिटर सिँचाई कुलो निर्माण गरिएको वडाध्यक्ष थारुले बताए । साथै उनले उत्पादन नै राम्रो गर्न सकिएन भने किसानहरुले अर्को पटक उन्नत बीउबिजनको प्रयोग कम गर्ने सम्भावना बढ्न सक्ने बताए ।
वडाध्यक्ष थारुले नहर वा कुलो नभएको र सिँचाइको व्यवस्था नभएको ठाउँमा डिप बोरिङ्ग लगाउने कार्य भएको पनि बताउनुभयो । यस्तै सिचाई कार्यलाई सहज र कम खर्चमा किसानले सिँचाइ सुविधाको उपभोग गर्न पाउने उद्देश्यले वडाको सबै ठाउँमा कृषि विद्युत विस्तार गरिएको छ ।
‘धेरैजसो खेतीका लागि राम्रो मानिएको र सिंचाईको सुबिधा रहेको ठाउँहरुमा कृषि विद्युत विस्तार गरिसकिएको छ,’ वडाध्यक्ष थारुले भने, ‘केही ठाउँमा अब बिस्तार गर्ने योजना छ ।’ उनका अनुसार आउने वर्षमा बाँकी रहेका ठाउँमा पनि पूर्णरुपले कृषि बिद्युत विस्तार भइसक्नेछ । वडाको सर्री, बिसम्भरपुर निबुवाटार, पहाडीपुर र सर्रा गाउँका १५० बिगाहा क्षेत्रफललाई लक्षित गरी कृषि विद्युत विस्तार गरिएको छ ।
जनप्रतिनिधि आएपछि हालसम्म कृषिका लागि भएका कार्यक्रमहरुले अहिलेसम्म यहाँका किसानहरु लाभान्वित भएको देखिन्छ । वडा कार्यालयका अनुसार प्रत्येक वर्षको कुल बजेटको ५ प्रतिशत रकम कृषिमा खर्च हुँदै आएको छ । यसका साथै यहाँ सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रमले पनि यहाँकै कृषि कार्यमा सहयोग पु¥याइरहेकोले वडाबाट धेरै रकम बिनियोजन गर्नुपर्ने बाध्यता हटेको छ ।
वडाध्यक्ष थारुका अनुसार बार्षिक करिब पाँचदेखि सात लाखको हाराहारीमा कृषिका लागि विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । यसै वडामा जिल्लाकै नमूना स्मार्ट कृषि गाउँ कार्यक्रम पनि सञ्चालनमा छ । प्रदेश सरकारमार्फत सञ्चालित कार्यक्रमले जिल्लास्तरमै नमूना कार्यक्रमका रुपमा पुरस्कृतसमेत भएको छ । वडाले आधुनिक तरिकाबाट खेतीपाती गर्ने किसानलाई पुरस्कृतसमेत गर्ने योजना बनाएको छ । यसले कृषि उत्पादनमा बृद्धि ल्याउने वडाको अनुमान छ ।
।