सूचनाको शक्ति - The Power Of Information

        

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । चब कम्पनीले दुई चरणमा हकप्रद सेयर निष्काशन गर्ने छ ।
पहिलो चरणमा साधारण सेयरधनीलाई १ बराबर १ दशमलव शुन्य ५ प्रतिशतको अनुपातमा प्रमोटर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनपछि यस कम्पनीका ५१ प्रतिशत प्रमोटर ४९ प्रतिशत साधारण सेयर हुनेछ ।दोस्रो चरणमा कम्पनीले १ बराबर ३ अनुपातमा फेरी हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर, १ः०५ र १ः ३ अनुपातको हकप्रद सेयर निष्काशन पछि कम्पनीको सेयर पुँजी एक अर्ब १२ करोड रुपैयाँ हुने छ । कम्पनीको यसअघि साधारणसभाले पास गरेको ६०० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय भने खारेज हुने कम्पनीले जनाएको छ।सञ्चालक समितिले गरेका यी निणर्यलाई पारित गर्न कम्पनीले आउदो बैशाख १० गते २३ औं वार्षिक साधारणसभा बोलाएको छ । ६०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेपछि कम्पनीको सेयर प्रतिकित्ता २ हजार ९३० रूपैयाँमा कारोबार भएको थियो । चैत ७ गते यस कम्पनीको सेयर ११९२ रुपैयाँमा कारोबार भएको छ । प्रतिकित्ता १७४० रुपैयाँसम्म गुमाएको यस कम्पनीका सेयरधनीले अब प्रमोटर सेयर किनेर चित्त बुझउनु पर्ने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०७:१८