काठमाडौं । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिधा हवाई यतायात सेवा शुरु हुने भएको छ । दुई हप्ताभित्र सिधा हवाई सेवामार्फत सुर्खेत र काठमाडौंलाई जोडिने पक्का भएको हो । करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहिसमय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन बिकास सम्बन्धी छलफलमा उक्त निर्णय भएको हो । नाकाबन्दी लगत्तै अवरुद्ध काठमाडौ सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाडांै सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसुर बाँकी नराख्ने बताए ।
तत्काल उडान सुचारु गर्ने र उडान सम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने मन्त्री अधिकारीले बताए । छलफलमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले भ्रमण बर्ष २०७५ मनाउन लागेको कर्णाली प्रदेशमा हवाई उडान भए काठमाडौ कर्णालीसँगै कर्णालीबासीको मुहारमा खुशी जोडिने बताए । सुर्खेत प्रदेस राजधानी भएकोले हरेक गतिबिधि बढेसँगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यबिधि आवश्यकताका आधारमा परिवर्तन तथा परिमार्जन गरी आगामी दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए । छलफलमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सिता एयर सिम्रिक एयरसहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा बुद्ध एयर र नेपाल एयरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एयरका निर्देशकले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नेपाल एयरलाइन्सका प्रमुख सुगतरत्न कंसाकारले अबको २१ गतेसम्ममा उडान गर्ने जानकारी दिए ।
।