सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको लक्षण देखिए ५ दिन क्वरेण्टीनमा बस्नुपर्ने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।

सरकारले हिजो सार्वजनिक गरेको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वरेण्टीन बस्नुपर्ने उल्लेख छ ।

यस्तै सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म रोक लगाएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भइ गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न पाइनेछ ।

आउँदो ७ गतेपछि त्यस्तो कार्यक्रम गर्दा पूर्णखोप लगाएका व्यक्ति मात्र उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने सरकारको आदेशमा उल्लेख छ । सरकारले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल, हाटबजार र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

यस्तै माघ १५ गतेसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने निर्णय पनि भएको छ । शैक्षिक क्रियाकलाप र शिक्षण सिकाइका गतिविधि भर्चुअल माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा अन्य प्रकारका पसलमा एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने गरी आदेश जारी गरेको छ ।

कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवम् मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, स्यानिटाइज गरी सञ्चालन गर्न पनि सरकारले भनेको छ ।

पार्टी प्यालेसमा एकपटक कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने र सम्बन्धित  जिल्ला प्रशासनबाट स्वीकृति लिन पर्नेछ ।

विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रममा ५० जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ । यस्तै रङ्गशालामा दर्शकसहितको खेल गर्दा कुल क्षमताको एक तिहाइ मात्र हुने गरी जनस्वास्थ्य पालना गरी सञ्चालन गर्न पाइने छ ।

कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश सम्बन्धी पूर्णपाठ :

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ०९:३१